काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालस्थित विदेशी दूतावास, नियोगहरुलाई सटहीको विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आज (बुधबार) परिपत्र जारी गर्दै भिसा दस्तुरबापत संकलन गरेको नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धित विदेशी दूतावास, नियोगको आधिकारिक अनुरोधपत्रका आधारमा सम्बन्धित बैंकले सटही सुविधा उपलब्ध गराउन सक्नेसहितको व्यवस्था गरेको हो ।
वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, अन्य वित्तीय संस्था एवं विदेशी विनिमय कारोबार गर्न अनुमतिप्राप्त संस्थाहरु सबैका नाउँमा जारी भएको यो व्यवस्थाअनुसार सटहीको विवरण महिना समाप्त भएको १५ दिनभित्र अनिवार्य राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय विभागमा उपलब्ध गराउनु पर्नेछ ।
परिपत्रअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ई-भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लेखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्था पालना हुनुपर्नेछ ।

