काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत १५ स्रष्टालाई सम्मान गर्ने भएको छ । मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभिन्न विधामा १५ स्रष्टालाई सम्मान गर्ने भएको जानकारी दिए ।
२०७९ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान विधाबाट सिरहाका पत्रकार एवं संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिलाई सम्मान गरिने भएको छ । ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मानबाट लेखक तथा सम्पादक गोपाल अश्क, चन्द्रकला खनाल अहिंसा स्रष्टाबाट प्राध्यापक डा. नारायणप्रसाद खनाल, महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टाबाट लेखक तथा पत्रकार हरिबहादुर थापा, मानबहादुर रावल वातावरण स्रष्टाबाट लेखक गोविन्दप्रसाद घिमिरे ‘वेदमणिलाई सम्मान प्रदान गर्ने भएको सभापति खनालले जानकारी दिए ।
यस्तै, पवित्रादेवी चौलागाई मानवअधिकार स्रष्टाबाट पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई, राधादेवी दाहाल सद्भाव स्रष्टाबाट पत्रकार तथा लेखक सीमा आभासलाई, पद्यप्रसाद दाहाल स्रष्टा सौगातबाट अशोक थारुलाई, राधादेवी दाहाल स्रष्टाबाट उषा हमाललाई, गणेशबहादुर श्रेष्ठ स्रष्टाबाट सम्मान शशिकला मानन्धरलाई, भूमिप्रसाद बराल स्रष्टा सौगात सम्मान गणेशकुमार राईलाई, जनककुमारी रेग्मी स्रष्टा सौगात गंगा कर्माचार्य पौडेल, जोगमाया बराल स्रष्टा सौगात हेमन्ती जोशी, श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर, श्रीनारायण दाहाल स्रष्टा सौगात मनमाया विश्वकर्मालाई प्रदान गरिएको छ ।
पुरस्कृत स्रष्टाबारे :
१. धीरेन्द्र प्रेमर्षि : २०२३ भदौ १८ गते सिरहामा जन्मनुभएका स्रष्टा धीरेन्द्र प्रेमर्षिका ‘कोन सुर सजाबी ?’ (मैथिली गीत संग्रह) र ‘समयलाई सलाम’ (गजल संग्रह)प्रकाशित छन् । स्रष्टा प्रेमर्षिका एक दर्जन अनूदित र आधा दर्जन सम्पादित कृति तथा दर्जनभन्दा बढी साङ्गीतिक एल्बमहरू प्रकाशित छन् । कक्षा १ देखि १२ सम्मका मैथिली र हिन्दी विषयक पाठ्यपुस्तक तथा शैक्षिक सन्दर्भ पुस्तकहरूका लेखकसमेत रहनुभएका प्रेमर्षि साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका त्रिवेणी व्यक्तित्व हुनुहुन्छ । २०६२÷६३ को जन आन्दोलनमा महत्वपूर्ण योगदान गरेको ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’का एक अभियन्ता समेत रहनुभएका पत्रकार एवं संस्कृतिविद प्रेमर्षिले मैथिली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ ।
२. गोपाल अश्क (गोपालप्रसाद सर्राफ) : २०१८ सालमा पर्सामा जन्मनुभएका स्रष्टा गोपाल अश्कका भोजपुरी भाषामा ‘घंघोर’ (महाकाव्य), ‘फुलवा’ (उपन्यास), ‘कजरी’ (खण्डकाव्य)सहित १० वटा, नेपालीमा ‘निदाउन नसकेका रातहरु’ (कथा संग्रह)सहित ४ र हिन्दीमा ४ गरी १८ कृतिहरु प्रकाशित छन् । यसैगरी स्रष्टा अश्कले १० वटा पुस्तकको अनुवाद गर्नुका साथै ९ वटा सोध अनुसन्धान प्रकाशित छन् । भोजपुरी व्याकरणको सहलेखनका साथै अश्क लिखित नेपाली, भोजपुरी र हिन्दी भाषाका रचनाहरु विभिन्न विश्वविद्यालय/विद्यालयहरुको पाठ्यपुस्तकमा समावेश छ भने अश्कले एक दर्जन पुस्तक/ पत्रिकाको सम्पादनसमेत गर्नुभएको छ ।
३. प्रा.डा.नारायणप्रसाद खनाल : २००९ साल पुस २३ गते बागलुङमा जन्मनुभएका स्रष्टा प्रा.डा. नारायणप्रसाद खनालको ‘गुराँस’ (काव्य) ‘नारायणीका लहरहरु’ (निबन्ध संग्रह), ‘समीक्षाका आकारहरु’ (समालोचना संग्रह)सहित एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । ३४ वर्ष प्राध्यापन गर्नुभएका संस्कृत भाषाका विद्वान प्राध्यापक खनालको संस्कृतमा एउटा काव्य समेत प्रकाशित छ ।
४. हरिबहादुर थापा : २०२९ वैशाख १० गते काभ्रेमा जन्मनुभएका स्रष्टा हरिबहादुर थापाका बहुचर्चित कृति ‘रजगज’, ‘भ्रष्टाचारको शल्यक्रिया’, ‘विदेशी सहायताको विसंगति’, ‘दलीय द्वन्द्व’ लगायत आधा दर्जन कृतिहरु प्रकाशित छन् । वरिष्ठ पत्रकार थापाद्वारा भ्रष्टाचारविरुद्ध लिखित पुस्तकहरुको अंग्रेजी संस्करणसमेत प्रकाशित भएको छ भने सुशासनका विषयमा विभिन्न पुस्तकहरुको समेत सम्पादन गर्नुभएको छ ।
५. गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ : २००७ साल वैशाख ९ गते काठमाडौंमा जन्मनुभएका स्रष्टा गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’का ‘वाग्मती’ (महिमा काव्य), ‘मृत्युचक्र’ (महाकाव्य), ‘शहीद’ (कविता संग्रह) सहित खण्डकाव्य, उपन्यास र बालकथा संग्रह गरी ४८ कृतिहरु प्रकाशित छन् । स्रष्टा घिमिरे अभिनव साहित्य समाजका संस्थापक एवं वर्तमान अध्यक्ष हुनुहुन्छ ।
६. त्रिभुवनचन्द्र वाग्ले : वि.स २०२४ साल माघ ६ गते तनहुँ जिल्लामा जन्मनुभएका स्रष्टा त्रिभुवनचन्द्र वाग्लेको ‘नेपालको विकासमा दलित’, ‘दलित स्रष्टा र प्रतिभा’, ‘अकीर्ण आँखा’ (कविता संग्रह) र ‘अबिर’ (उपन्यास) गरी ५ पुस्तकहरु प्रकाशित छन् । दलित मुक्ति र सामाजिक न्यायको विषयमा कलम चलाउँदै आउनुभएका पत्रकार वाग्लेले करिब तीन दर्जन पुस्तकको सम्पादनसमेत गर्नुभएको छ ।
७. सीमा आभास : २०३९ साल साउन २० गते ओखलढुंगामा जन्मनुभएकी स्रष्टा सीमा आभासका ‘म स्त्री अर्थात् आइमाई’, ‘साँझको संघारबाट’ (कविता संग्रह), ‘टापुका स्वरहरु’ कथा संग्रहसहित तीन पुस्तकहरु प्रकाशित छन् । लोकतन्त्रका लागि भएको आन्दोलनका क्रममा पटक पटक गिरफ्तार हुनुभएकी स्रष्टा आभासका स्वतन्त्रता र अधिकारका विषयमा दर्जनौ लेख रचनाहरु प्रकाशित छन् ।
८. अशोक थारु : वि.सं २०११ असार १६ मा दाङमा जन्मनुभएका स्रष्टा अशोक थारुका थारु लोक साहित्यिक महाकाव्य ‘बर्किमार एक संक्षिप्त तुलनात्मक अध्ययन’ (थारु भाषामा परिमार्जित संस्करणसमेत), ‘थारु लोक साहित्यमा इतिहास कला र दर्शन’, ‘थारु संस्कृति अन्तर्गतका लोक कलाहरुको शास्त्रीय पहिचान र विश्लेषण’, ‘गुर्बाबा थारु-नेपाली-अंग्रेजी शब्दकोष’, गरी आधा दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । थारु संस्कृतिको अध्ययन अनुसन्धानमा विशेष योगदान गर्नुभएका स्रष्टा थारुले थारु भाषामा प्रचलित लोक काव्यहरुको सम्पादन, भावानुवाद, विश्लेषण तथा समालोचना समेत गर्नुभएको छ ।
९. उषा हमाल : २०१६ कात्तिक १९ मा सल्यानमा जन्मनुभएकी स्रष्टा उषा हमालका ‘समय समुन्द्र ’(कविता संग्रह), ‘भिक्षुसंग प्रेम’ (यात्रा निबन्ध), ‘धानसँगै छमछमी’ (बाल कथा), सहित ११ वटा पुस्तक प्रकाशित छन् । स्रष्टा हमालका रचनाहरु विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रिकामा ५ दशकदेखी प्रकाशित हुँदै आएको छ ।
१०. शशिकला मानन्धर : २०१६ साल असोज ६ गते काठमाण्डौमा जन्मनुभएकी स्रष्टा शशिकला मानन्धरका नेपाल भाषा (नेवारी) मा ‘नमि’ (कथा संग्रह), ‘जल्लथीगु लँपु’ (उपन्यास), ‘न्हूगु परसि’ (पूर्णांकी नाटक) सहित ९ र नेपालीमा दुई गरी ११ वटा कृतिहरु प्रकाशित छन् । नेपाल भाषामा पहिलो महिला उपन्यासकार, पहिलो पूर्णाङ्की नाटककारका रुपमा परिचित स्रष्टा मानन्धरले ४ वटा कृतिको अनुवाद समेत गर्नुभएको छ । वैज्ञानिक अधिकृतको रुपमा कार्य गरी अवकास प्राप्त गर्नुभएकी मानन्धरका दर्जनौ लेख रचनाहरु प्रकाशित छन् ।
११. गणेशकुमार राई : २०२७ साल जेठ २४ गते ओखलढुंगामा जन्मनुभएका स्रष्टा गणेशकुमार राईका ‘इक हिर्कटी’ (निबन्ध संग्रह), ‘वाम्विर’ (कविता संग्रह), ‘उङ रान्चो बाकिमे’ (बाल कविता संग्रह)सहित वाम्वुले राई भाषामा आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् । यसैगरी स्रष्टा राईले वाम्वुले राई जाति : भाषा र संस्कृतिसहित ८ वटा कृतिको सम्पादन गर्नुभएको छ । स्रष्टा राईको सम्पादनमा ‘लिब्जु-भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिका तीन दशकदेखी प्रकाशन हुँदै आएको छ ।
१२. गंगा कर्माचार्य पौडेल : २०११ भदौ ३० गते स्याङ्जामा जन्मनुभएकी गंगा कर्माचार्य पौडेलका ‘गंगाका केही छालहरु’, ‘आँधीखोलाको सम्झना’ (कविता संग्रह), ‘भुइँचालो’ (बाल कथा संग्रह) लगायत बालकाव्य, बालउपन्यास, बाल कथासंग्रहका ३० भन्दा बढी पुस्तक र सह लेखनमा २६ पुस्तकहरु प्रकाशित छन् । कर्माचार्य पौडेलका आधा दर्जन बढी रचनाहरु पाठ्यपुस्तकमा समेत समावेश भएका छन् । कर्माचार्यले अपांग प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएको छ ।
१३. हेमन्ती जोशी : २०१८ साल भदौ १८ गते डोटीमा जन्मनुभएकी स्रष्टा हेमन्ती जोशीका ‘प्रतिविम्व’ (कथा संग्रह), ‘पत्र पत्र जिन्दगी’(कथा संग्रह) सहित ५ कृतिहरु प्रकाशित छन् । हाल धनगढीनिवासी स्रष्टा जोशी ५० को दशकदेखी निरन्तर लेख्दै आउनुभएको छ ।
१४. फूलकुमारी थापा मगर : २०१६ जेठ २६ मा तनहुँमा जन्मनुभएकी स्रष्टा फूलकुमारी थापा मगरका मगर भाषामा ‘इटन लेसा मास्टोकुङ’ (उपन्यास), ‘कानुङ कुरा;’ (संवाद), झोरले लाफाको, बिम्ब प्रतिबिम्ब (नेपाली उपन्यास) लगायत कृतिहरु प्रकाशित छन् । स्रष्टा थापा मगरका विभिन्न पत्र-पत्रिकाहरुमा दर्जनौं रचना प्रकाशित छन् ।
१५. मनमाया विश्वकर्मा ( मनु विश्वकर्मा) : २०३८ भदौ ८ गते भोजपुरमा जन्मनुभएकी स्रष्टा मनमाया विश्वकर्मा को ‘ऐंजेरु बिज बुकी’ (कविता संग्रह) प्रकाशित भएको छ । स्रष्टा विश्वकर्माले कविता, गीत तथा कथाको क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।
