काठमाडौं । भदौ महिनाको पहिलो मंगलबार आज गणेशको पूजा गरिन्छ। हिन्दू धर्मावलम्बी आजको दिन विशेष रुपमा गणेशको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन्।
हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी-देवताको बारको रुपमा लिन्छन् । प्रत्येक दिन भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप आज मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआजा गर्ने गरिन्छ ।
गणेशको पुजा आराधना गरेपछि मात्रै कुनै पनि कार्य सिद्ध हुन्छ भन्ने धार्मिक मान्यता छ। गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा-आराधना गरिन्छ। मंगलबार काठमाडौंलगायत देशभरिका गणेश मन्दिरहरुमा भिड लाग्ने गर्छ ।
मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्नुपर्छ भन्ने धार्मिक विश्वास छ। मंगलबार विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने,त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने गर्नुपर्छ ।
विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ। त्यसकारण व्रत बसेर विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ। आजको दिन गणेश भगवानको पूजा गरेमा सोचेको पूरा हुने,काम र व्यापारमा सफलता प्राप्त हुने धार्मिक विश्वास छ । गणेशको पूजा गर्दा लड्ड,रातो फूल,अक्षता र दुवो चढाउँदा उत्तम हुन्छ ।
