पञ्चे बाजामा अग्रसर रुकुमका नारी

पञ्चे बाजामा अग्रसर रुकुमका नारी


  • 6.7K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    पञ्चे बाजामा अग्रसर रुकुमका नारी

    रुकुमपूर्वमा नारी पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा नारी अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् ।

    images

    स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक नारीयता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताइन् । 

    यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब नारीले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताइन् । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार–पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाइन् । 

    शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका नारी अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताइन् । समाजमा नारीले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उनले भनिन् । 

    पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताइन् । युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताइन् । 

    वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # पञ्चे बाजा

  • तेस्रो आँखा
    लेखकबाट थप