मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ६, जुरिखेतमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । हेटौंडा–कुलेखानी छोटो मार्गअन्तर्गतको जुरिखेतको एघार घुम्तीको ओरालोमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ख ७८५८ नम्बर मिनी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि तल खसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक वामदेव गौतमले जानकारी दिए । गौतम नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
प्रहरीका अनुसार, बसमा सवार यात्रुको संख्या यकिन भएको छैन । प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । शवको पहिचान पनि खुलेको छैन ।
