काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ कार्यान्वनका लागि राय-सुझाव माग गरिएको छ । राष्ट्र बैंकले बिहीबार सम्पूर्ण सरोकारवाला निकायहरुको नाममा परिपत्र जारी गर्दै राय-सुझाव माग गरेको हो ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारअन्तर्गत वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने भन्ने उल्लेख रहेको र सोही ऐनको दफा ४९ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा कार्य गर्नुपर्ने अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न वाञ्छनीय भएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरि यो विनियमावली तर्जुमा गरि लागु गरिएको हो,’ मस्यौदामा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ लागु गर्नुको उदे्श्य इजाजतपत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु रहेको छ ।
अन्तिम ऋणदाता सुविधा प्रदान हुनसक्ने अवस्थमा कुनै एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाइ इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले अन्तिम ऋणदाता सुविधाका लागि राष्ट्र बैंकसमक्ष अनुरोध गरेमा र त्यस्तो अनुरोध मनासिव लागे समितिको निर्णयबमोजिम राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्न सक्नेछ ।
राष्ट्र बैंकका अनुसार अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउँदा इजाजतपत्रप्राप्त संस्थाको वित्तीय विवरणमा देखाइएका सम्पत्तिलाई विश्वासका आधारका रुपमा लिई ऐनको दफा ४९ को उपदफा (१) बमोजिमका देहायका जायजेथालाई सुरक्षणको रुपमा लिइनेछ । ऐनको दफा ६६ को उपदफा (१) को खण्ड (ङ) मा उल्लेख भएबमोजिमको अन्तर्राष्ट्रिय विनिमय अधिकारपत्र, नेपालभित्र भुक्तानी हुने गरी नेपाल सरकारबाट जारी भएको ऋणपत्र, राष्ट्र बैंकमा जम्मा रहेको निक्षेप वा ऐनअन्तर्गत राष्ट्र बैंकले कारोबार गर्न सक्ने सुन तथा बहुमूल्य धातु, ऐनको दफा ४८ को उपदफाबमोजिमका विनिमयपत्र वा प्रतिज्ञापत्र, सरकारले दिएको प्रचलित बजार दरको सुरक्षणपत्रको ग्यारेन्टी, इजाजतपत्र प्राप्त संस्थाको असल कर्जा, विविध लगानी तथा आसामी समितिले उपयुक्त ठानेका अन्य सुरक्षणपत्र धितो लिएर अन्तिम ऋणदाता सुविधा दिन सक्नेछ ।
यसका लागि आगामी ६ महिनाको नगद प्रवाह प्रक्षेपण (पहिलो ४ साताका लागि दैनिक नगद प्रवाह प्रक्षेपण र ४ हप्तापछि ६ महिनासम्म साप्ताहिक नगद प्रवाह प्रक्षेपण आवश्यक पर्नेछ ।

