काठमाडौं । बडा दसैंको तेस्रो दिन आज बुधबार चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । नवरात्रको तेस्रो दिन आज देशभरिका देवीका मन्दिरमा चण्डि पाठ गर्दै पूजाआजा गर्ने प्रचलन छ । दसैंमा घटस्थापना गरेसँगै नवदूर्गाका नौ रूपको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक विधि छ।
नवरात्रका अवसरमा देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ । विभिन्न शक्तिपीठमा लामबद्ध भएर दर्शनार्थीले पूजाआजा गरिरहेका छन् । घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा-आराधना गर्दै सप्तशती चण्डी पाठ गर्ने गरिन्छ ।
