काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयवधि सात दिन मात्र कायम रहने जनाएको छ । सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले आज (बिहीबार) परिपत्र जारी गरेको हो ।
‘तर कंथकदाचित सात दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशनसमेत परिपत्रमार्फत दिएको छ ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुंदा नम्बर ४९ (६) मा संशोधन गर्दै सुरक्षण धितोपत्र कारोबारसम्बन्धी सम्झौता गरी स्थायी तरलता सुविधा उपभोग गर्न योग्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका लागि कार्यान्वयनमा आउने गरी व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

