दसैँ – २०७९
आज नवरात्रको नवौँ दिन, यसरी गरिन्छ सिद्धिदात्रीको पूजा  

आज नवरात्रको नवौँ दिन, यसरी गरिन्छ सिद्धिदात्रीको पूजा  


  • 3.8K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    आज नवरात्रको नवौँ दिन, यसरी गरिन्छ सिद्धिदात्रीको पूजा  

    काठमाडौं  । नवरात्रको आज नवौँ दिन ।  दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । 

    images

    नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् । 

    देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । देवीको बिसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ ।  सिद्ध, गन्धर्व, यक्ष, असुर, देवता आदिले सिद्धिप्राप्तिको लागि सिद्धिदात्रीको आराधना गर्ने गर्छन् । कमलको फूललाई आफ्नो आसन बनाएकी देवी सिद्धिदात्रीको हातमा कलमको फूल, शंख, चक्र, गदा रहेको छ । अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व नाम गरेका अष्ट सिद्धिहरू यीनै देवीको कृपाबाट पाइने शास्त्रहरूमा उल्लेख गरिएको छ ।

    नवरात्रको पहिलो दिन दसैँ घर अथवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । 
     नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।  


    तेस्रो आँखा