प्योङ्याङ । उत्तर कोरियाले जापानमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन् । सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।
'उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ । कृपया भवनहरू वा भूमिगत स्थलमा सुरक्षित रहनुहोला,' जापान सरकारले मङ्गलवार जापानको समय अनुसार ७ बजेर २९ मिनेटमा जारी गरेको चेतावनीमा भनेको छ। उक्त देशले यस्तो चेतावनी जारी गर्नु दुर्लभ अवस्था हो ।
अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई क्रुर व्यवहार भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन् । पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ।
यो प्रक्षेपण जापान र अमेरिकाको ध्यानाकर्षण गराउनको लागि जानाजान गरेको जस्तो देखिन्छ। अहिले अमेरिका र जापानले उत्तर कोरियाली नेता किम जङ अनलाई बे वास्ता गरिरहेका छन् । कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो ।
धेरै देशहरू यस्तो कार्य गर्न पूर्ण रूपमा जोगिन्छन् किनकि यस्तो कार्यले सहजै आक्रमणको रूप लिनसक्छ र उत्तेजना बढाउन सक्छ।अमेरिकाले उत्तर कोरियाको निर्णयलाई 'दुर्भाग्यपूर्ण' भनेको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साताको सुरुमा त्रिपक्षीय सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले उक्त प्रहार गरेको हो। त्यो सैन्य अभ्यास उत्तर कोरियालाई उक्साउन गरिएको ठानिएको थियो ।
एक सातामा प्योङयाङले गरेको यो पाँचौँ क्षेप्यास्त्र प्रक्षेपण हो।शनिवार पनि दुईवटा रकेटहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर पानीमा खसेका थिए । उत्तर कोरियाका धेरै क्षेप्यास्त्र परीक्षणहरू छिमेकी देशहरूबाट हुने उडानहरूलाई बेवास्ता गर्दै उच्च आकाशमा गर्ने गरिन्छ । यसै महिनाको सुरुमा उत्तर कोरियाले आफूलाई परमाणुअस्त्रयुक्त राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । नेता किम जङ अनले परमाणु निरस्त्रीकरण वार्ताको सम्भावनालाई अस्वीकार गर्दै त्यस्तो गरेका हुन् । व्यापक प्रतिबन्धका बीच प्योङयाङले सन् २००६ देखि २०१७ सम्म ६ वटा परीक्षणहरू गरेको थियो । बीबीसी
