न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जी-ट्वान्टीका सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ ।’
संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेन्डा बनाइरहेको बताउँदै ती एजेन्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उनले आग्रह गरेका हुन् ।
इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायुसम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सम्मेलनमा विश्वका विभिन्न देशले जलवायु परिवर्तनसम्बन्धी आफ्ना एजेन्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ ।
संयुक्त राष्ट्रसंघले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरुलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ-आफना देशका बजेट एवं नीति तथा कार्यक्रम प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो । आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसंघले विश्वका आफ्ना सदस्य देशहरुलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ ।
