डा.शेखर : एक्लै लडे, हारे र जिते

डा.शेखर : एक्लै लडे, हारे र जिते


  • 6.4K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    डा.शेखर : एक्लै लडे, हारे र जिते
    • देवेन्द्र बस्नेत/तेस्रो आँखा 

    काठमाडौं, २९ मंसिर । ‘सच्चा कांग्रेसी सानेपा वरिपरि घुम्नेहरू होइनन्, सच्चा कांग्रेसी त गाउँमा छन् ।’ केही समय अघि कांग्रेस नेता डा. शेखर कोइरालाको यो अभिव्यक्तिले कांग्रेसभित्रको वर्तमान राजनीतिक परिदृश्यलाई बोलिरहेको थियो । व्यक्तिवादी राजनीतिक संस्कारले ‘गाँजिएको’ कांग्रेसभित्र ‘फरक धार’ खोजिरहेका थिए कोइरालाले । तब त, कोइराला सानेपाभन्दा गाउँ केन्द्रित भए– सच्चा कांग्रेसी खोज्न ।

    images

    सच्चा कार्यकर्ता खोज्दै गाउँ हिँडने नेता हुन् कोइराला । उनका कैयन जिल्ला भ्रमणका बारेमा जिल्लाकै नेताहरूले थाहा पाउँदैनथे । गाउँ पस्थे, अनि कांग्रेस र कांग्रेसी बुझेर फर्कन्थे । अझ विपदमा मल्हम बनेर कैयन जिल्लामा यी ‘डाक्टर साहेब’ औषधि बोकेरै पुगे । घाउमा मल्हम लगाइदिए ।

    कांग्रेसको आफ्नो लामो राजनीतिक कालखण्डभरि सच्चा कांग्रेसी खोजेर ‘मन’ जितेका डा. शेखर कोइराला यसपटक उनै कांग्रेसीहरूको ‘मत’ जित्न चाहन्थे । तर, कांग्रेसको राजनीति उही सानेपा आसपास घुम्नेहरूकै वरिपरि ‘फन्को’ मारिरहेकै रहेछ । सानेपा आसपास ‘चक्कर’ काट्नेहरूले उनलाई फेल गराइदिए । तथापि, कोइरालाले फेरी पनि गाउँहरूमा भेटेका सच्चा कांग्रेसीका मन र मत दुवै जिते । र, उनीहरूको मत पाए ।

    यतिमात्रै पनि होइन, कांग्रेसभित्रको ‘देउवा–राज’ बिरुद्ध एक्लै भिडेका कोइरालाले संस्थापन इतर पक्षको ‘कमाण्डर’ मा आफनो नाम ‘दर्ज’ गराइसकेका छन् । यिनै कमाण्डरका सारथी अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, डा. चन्द्र भण्डारीहरू बनेका छन् ।

    यहाँनेर स्वाभाविकै रूपमा प्रश्न उठ्न सक्छ– डा. शेखर कोइरालाभन्दा अघिल्लो पुस्ताका रामचन्द्र पौडेल कमाण्डर किन नहुने ? उनै पौडेलले आयोजना गरेको चियापानमा उनीविरुद्ध चलेका ‘नाराबाजी’ ले पौडेलको ‘कमाण्डर’ बन्ने ‘ल्याकत’ कमजोर प्रमाणित गरिदिई सकेको छ ।

    कांग्रेसको सभापतिका बलिया दाबेदारका रूपमा रहेका पौडेल संस्थापन इतर समूहको एकल उम्मेदवार बनेर देउवासँग भिड्न चाहन्थे । तर, दोस्रो पुस्ताका नेताहरूले सभापतिको आकांक्षा राखेपछि पौडेलले ‘पीडाबोध’ गर्दै चुनावी मैदानबाट बिदा लिएको घोषणा गरिदिए । त्यसो त, पौडेलका सामु डा. शेखर बाधक थिएनन् । उनले भनिसकेका थिए– ‘रामचन्द्र जी उम्मेदवार बन्ने हो भने मेरो समर्थन छ तर उहाँ बाहेक अरूमा सहमति हुँदैन ।’

    उनै रामचन्द्रको नाममा समर्थन जनाइसकेका डा. शेखर कोइरालालाई ‘मतदान’ नगरेर पौडेलले ठूलै ‘अन्याय’ गरेका छन् । उनले चुनावी मैदानबाट बिदा लिएको घोषणा गरेको अर्को दिन मतदानै नगर्ने निर्णय लिए । यसको अर्थ पनि पौडेलले कोइरालालाई असहयोग गरेनन् मात्रै, ‘खुलेरै’ असहयोग पनि गरे ।  

    पौडेलको यो भूमिकाले पनि डा. शेखरलाई निर्विकल्प संस्थापन इतरको कमाण्डर बनाइदिएको छ । यसैगरी, सभापतिका अर्का प्रत्यासी डा. शशांक कोइराला पनि संस्थापन इतरको नेताको सूचीबाट तल झरेका छन् । डा. शेखरलाई उनले पनि खुलेर समर्थन गरेनन् । फलतः यो समूहका नेता तथा कार्यकर्तामा पनि डा. शशांकप्रतिको सकारात्मकता मत्थर बनेको छ । डा. शशांकप्रतिको आशंका उनको केन्द्रीय सदस्यको उम्मेदवारीले पनि बढाइदियो । उनी साझा नेता बन्न खोजे ।

    गुटगत प्रतिस्पर्धाका आधारमा भिडेका डा. शेखरप्रति उनी खुलेरै लाग्नुपर्ने थियो । तर, उनी संस्थापन इतरबाहेकका प्यानलमा पनि उम्मेदवार सूचीमा अटाए । यसले पनि डा. शशांकसँगको ‘देउवा सामिप्य’ कसिलो बनेको हो कि भन्ने चर्चा कांग्रेसवृत्तमा चलिरहेकै छ ।

    ‘उहाँ (शशांक) संस्थापन इतर समूहको खम्बाका रूपमा रहँदै आउनुभयो,’ एक नेताले भने– ‘तर, उहाँ नै यो समूहमा खुलेर देखिन सक्नुभएन, अझ देउवाकै प्यानलमा सदस्य पदको उम्मेदवार सूचीमा अटाएपछि त उहाँप्रति स्वाभाविकै रूपमा आशंका भैहाल्छ नि ।’

    डा. शशांक कोइराला डा. शेखरको चुनावी प्रचारमा सहभागी त भएनन् नै डा. शेखरले राखेका पत्रकार सम्मेलनहरूमा पनि उपस्थित नभएर मौन बसिरहे ।

    यसैगरी, पहिलो चरणको सभापति निर्वाचनबाट बाहिरिएका संस्थापन इतर समूहका प्रकाशमान सिंहले स्वाभाविकै रूपमा आफ्नै समूहका डा. शेखरलाई दोस्रो चरणको निर्वाचनमा सघाउने आशंका गरियो ।

    उनले भनेका थिए पनि– ‘देउवाबाट नेतृत्व दोस्रो पुस्तामा आउनुपर्छ, दोस्रो चरणको निर्वाचनमा त्यो समिकरण बन्छ ।’ तर, मंगलबार बिहान सिंह फेरिए । उनी देउवातिरै सेपिए, देउवालाई भोट हाले । दोस्रो तहका सिंहले दोस्रो तहकै डा. शेखरलाई सभापतिमा स्वीकार्न सकेनन् ।

    बराबर शक्तिमै रहेका डा. शेखरलाई सभापति बनाएर सिंहले आफूलाई उनीभन्दा कमजोर बनाउन चाहेनन् । फलतः उनले पहिलो पुस्ताकै देउवालाई मत दिएर डा. शेखरलाई कमजोर बनाउने निर्णय लिए । भलै, उपप्रधानमन्त्री बनाइदिने सहमतिमा सिंहले ‘देउवा–कोटरी’ रोजेको चर्चा पनि चल्ने गरेको छ । सिंहले संस्थापन इतर समूह छाडेर ‘देउवा कोटरी’ रोजेपछि डा. शेखरलाई इतर समूहको नेता बन्ने बाटो फराकिलो बनेको छ ।

    चुनावी अंक गणितमा देउवा भन्दा ८७८ मतले पछाडि परेका डा. शेखर एक्लै भिडेर संस्थापन इतरको साख जोगाइ दिएका छन् । अधिकांश नेताले उनलाई मैदानमा एक्लै पारे पनि त्यो प्रयासबाट थाकेनन् उनी । उनको यही प्रयासले डा. शेखरलाई संस्थापन इतरको नेतृत्वकर्ता ‘नेता’ बनाइ दिएको छ । अनि, उनी सिंगो कांग्रेसभित्र पुस्तान्तरणका एकल ‘नायक’ का रूपमा उदाएका छन् । अतः डा. शेखर कोइराला एक्लै लडे, हारे र जिते ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा