म्याराथन पर्यटन प्रवर्द्धन गर्न देहरादुन र नेपालगन्ज म्याराथनबीच सम्झौता

म्याराथन पर्यटन प्रवर्द्धन गर्न देहरादुन र नेपालगन्ज म्याराथनबीच सम्झौता


  • 5.5K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    म्याराथन पर्यटन प्रवर्द्धन गर्न देहरादुन र नेपालगन्ज म्याराथनबीच सम्झौता

    काठमाडौं । धारा नेपालगन्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथनमार्फत पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

    images

    दुवै विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड रोड रेस (एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    सम्झौतापछि सारमंग देहरादुन म्याराथन  रेस  डाइरेक्टर अनिल मोहनले खुसी व्यक्त गरेका छन् । ‘एशियाका दुई सहरमा हुने प्रतिष्ठित म्याराथनबीच एक-अर्कालाई सहयोग गर्ने उद्देश्यले सम्झौता गर्न पाउँदा धेरै खुसी छौं । यस सम्झौताले म्याराथन पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौं,’ उनले भनेका छन्,‘उत्तराखण्ड र नेपाल दुवैको पहाडी रहनसहन, संस्कृति र भौगोलिक बनोट समानता छ । हामी नेपालबाट आउने धावकहरुलाई स्वागत गर्न सदैव आतुर रहनेछौं ।’

    सारमंग देहरादुन म्याराथन यही अक्टोबर १६ (मंसिर ३० गते) हुनेछ । धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादुन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक/अध्यक्ष टीएस ठकुरीले धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने बताए । ‘अधिकांश हिन्दु धर्मावलम्बीका लागि हरिद्वार, ऋषिकेष ठूलो तीर्थ स्थल हो, नेपालगन्जस्थित बागेश्वरी शक्तिपीठ पनि उत्तिकै महत्त्वपूर्ण हो,’ ठकुरीले भने, ‘यो सम्झौताले धार्मिक पर्यटनको समेत प्रवर्द्धन हुने अपेक्षा गरेका छौं । साथै धेरैभन्दा धेरै नेपाली धावकले विदेशी भूमिमा खेल्ने अवसर पनि अर्को महत्त्वपूर्ण पाटो हुनेछ ।’ देहरादुनमा म्याराथनमा सहभागिताका लागि स्थानीय खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय स्तरका धावक-धाविकालाई समेत अवसर प्रदान गरिने ठकुरीले जानकारी गराए ।

    एक दशक लामो सशस्त्र द्वन्द्वलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्तिसम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ वर्षदेखि हरेक मंसिरको पहिलो शानिबार नेपालगन्ज म्याराथन हुँदै आएको छ । यस वर्ष आमनिर्वाचनका कारण मंसिर २४ गते म्याराथन हुनेछ ।
      
    क्रियटिभ ह्यान्ड्स्‌को आयोजना एवं क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथन यस वर्ष भने आमनिर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।

    नेपालगन्ज म्याराथनको वेभसाइट (www.nepalgunjmarathon.com) मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । गत वर्ष झैं यस वर्ष पनि विभिन्न दश विधामा स्पर्धा समावेश गरिएको छ ।

    पुरुषतर्फ म्याराथन(४२.१९५किमि), महिलातर्फ हाफ म्याराथन (२१किमि), १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुलस्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेरसमूह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

    केही विधातर्फ नगद पुरस्कार राशिमा वृद्धि गरिनेछ । केही सप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ । 

    पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्‌भावको सहर हो । देशको संघीय संरचनामा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेशद्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत सहरको चिनारी कायमै राख्न आठ वर्षअघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

    नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका भीमबहादुर साउद, छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए । महिला हाफ म्याराथनतर्फ सातौंमा गत वर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेश्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजू, तेस्रोमा आर्मीकी  रेसु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजू, पाँचौंमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजू हुन् ।

  • सम्बन्धित विषय:

  • # म्याराथन

  • तेस्रो आँखा