काठमाडौं । फाइनान्स कम्पनीहरुले व्यक्तिगत आवास अर्थात् घर बनाउनकै लागि १० अर्ब ७८ करोड ६० लाख रुपैयाँ कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीले देशभरका आफ्ना २६९ शाखामार्फत उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
राष्ट्र बैंकले एक करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जाको सूचीमा राखेका कारण पनि पछिल्लो समय ‘होम लोन’ शीर्षकको कर्जा रकम बढेको हो ।
यस अवधिमा फाइनान्सहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब दुई अर्ब ३५ करोड ८० लाख र ९१ अर्ब २२ करोड ८० लाख रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले रियस्टेट क्षेत्रमा भने १० अर्ब एक करोड २० लाख रुपैयाँ कर्जा दिएका छन् । सेयर बजार निरन्तर ओरालो लागे पनि यस अवधिमा फाइनान्स कम्पनीहरुले सेयर धितो शीर्षकमा भने तीन अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
