काठमाडौं । लामो समयसम्म विनाचर्चा संगीत-साधनामा मात्र सीमित सांगीतिक समूह ऊबेलाले फेरि एउटा नयाँ गीत विजयादशमीको अवसरमा सार्वजनिक गरेको छ । ‘नेपाली नवयुवा’ शीर्षकको उक्त गीतलाई युट्युब र टिकटकलगायत सामाजिक सन्जालमा समूहकै नामको ह्यान्डलबाट प्रस्तुत गरिएको छ ।
उक्त गीतको उद्देश्य संसारभर छरिएर रहेका नेपाली युवालाई समाजमा राम्रो काम गर्न प्रेरित गर्नु हो र यसलाई युवाहरुको जुनसुकै गतिविधि वा कार्यक्रममा गाउन र बजाउनका लागि उपयुक्त हुने किसिमले सरलरुपमा रचना गरिएको सो समूहका संगीतकर्मी नित्यदर्शन कुँवरले बताए । ‘गीतलाई जोशिलो र युवाहरुलाई आकर्षित गर्ने किसिमको संगीतले भरिएको छ भने शब्दहरुमा युवाहरुले एकजुट भएर असल समाज निर्माणमा लाग्नुपर्ने सन्देश दिन खोजिएको छ,’ उनले भने । कुराकानीका क्रममा चर्चाका अरु कुनै उपाय र पैसा खर्च नगरीकनै दर्शक-स्रोताले विस्तारै आफ्ना सिर्जनाहरु रुचाएकाले आउँदा दिनमा पनि उद्देश्यमूलक र अर्थपूर्ण संगीतका साथै अरु विधाका सिर्जनालाई पनि निरन्तरता दिइने ऊबेला समूहले जानकारी दियो ।
अहिले बजारमा मायापिरतीका मात्र संगीत तयार हुने गरेको र युवाहरुको मामिलालाई सम्बोधन गर्ने संगीत सिर्जनाहरु लगभग शून्य रहेको अवस्थामा र हालका दिनमा नेपाली युवाको जागरुकतालाई मध्यनजर गर्दै उनीहरुलाई थप प्रोत्साहन गर्न हाम्रातर्फबाट सानो प्रयास स्वरुप ‘नेपाली नवयुवा’ तयार भएको समूहका अर्का गायक सुकदेव केसीले जानकारी दिए ।
कतै आगामी मंसिर ४ मा आउन लागेको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र युवा उम्मेद्वारको हौसला बढाउन गीत बनाइएको त होइन नि भन्ने प्रश्नको जवाफमा प्रतिप्रश्न गर्दै नित्य हाँस्दै भन्छन्, ‘यस्तो भएको भए पनि केही नराम्रो भयो र ? वास्तवमा कला-सिर्जनालाई त्यसरी हेरिनुहुन्न किनकि रचना हुनलाई केही न केहीले त मनमा छुनैपर्छ र यदि यो समयको माग हो र हाम्रो प्रयासले ती जोशिला उम्मेद्वारलाई प्रेरणा मिल्छ भने त झनै राम्रो भयो नि । तर गीत बनाउँदा यसरी हेरिएको थिएन, त्यस्तो भएछ भने राम्रो संयोग मान्नुपर्ला किनकि त्यो बेलाको सोच ठूलै हो जहाँ संसारभरिका नेपाली युवाहरुलाई अटाउन खोजिएको थियो ।’
यसअघि काठमाडौंका मेयर बालेन्द्र शाहलाई उनको चुनावी गतिविधिताका मनोबल बढाउन ‘स्याबास् बालेन’ र केहीअघि २५ वर्षपहिल्यै तयार गरिएको नोस्टाल्जिक गीत ‘मलाई लाग्दैन तिम्रो माया’ दर्शक-स्रोताद्वारा रुचाइएका सिर्जनाहरु भएको सो समूहका सुकदेव केसीले बताए ।
