• ट्रेण्डिङ्ग :
चलचित्र ‘गौँथली’ का ठुले जापानमा, पहिलो शो हाउसफुल

चलचित्र ‘गौँथली’ का ठुले जापानमा, पहिलो शो हाउसफुल


  • 4.2K
    SHARES
    • भाद्र ६, २०८३ शनिबार
    • ३ हप्ता अघि
    • 6.4K Views

    चलचित्र ‘गौँथली’ का ठुले जापानमा, पहिलो शो हाउसफुल

    टोकियो । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको सामाजिक तथा पारिवारिक चलचित्र ‘गौँथली’ का मुख्य अभिनेता अरुण क्षेत्री जापान आइपुगेका छन्। चलचित्रको प्रचार–प्रसार तथा जापानमा हुने विशेष प्रदर्शनमा सहभागी हुन क्षेत्री शुक्रबार जापान आएका हुन्।

    images

    टोकियोस्थित नाकानो जिरो हलमा आइतबार, अगस्ट २३ मा ‘गौँथली’को विशेष प्रदर्शन हुँदैछ। उक्त प्रदर्शनका लागि टिकट पूर्ण रूपमा बिक्री भइसकेको आयोजक पक्षले जनाएको छ। दर्शकको उत्साहलाई मध्यनजर गर्दै सोही हलमा अगस्ट २८ तारिख पुनः ‘गौँथली’ प्रदर्शन गर्ने तयारी गरिएको छ। जापानमा नेपाली चलचित्रप्रति बढ्दो चासोका बीच ‘गौँथली’को दोस्रो शो थपिनुलाई सकारात्मक रूपमा हेरिएको छ। चलचित्रमा अरुण क्षेत्रीले माइल्ड अटिजम भएका युवक ‘ठूले’ को भूमिका निर्वाह गरेका छन्। उनको अभिनयलाई चलचित्रको महत्वपूर्ण पक्षका रूपमा चर्चा गरिएको छ।

    डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ ले ग्रामीण नेपाली समाज, महिलाको शिक्षा, पारिवारिक सम्बन्ध, सामाजिक सोच तथा फरक क्षमताका व्यक्तिप्रति समाजको दृष्टिकोण जस्ता विषयलाई कथाको केन्द्रमा राखेको छ। फिल्ममा सिम्रन खड्काले शिक्षाको सपना बोकेकी युवतीको भूमिका निर्वाह गरेकी छन् भने अरुणको ‘ठूले’ पात्रसँगको वैवाहिक सम्बन्ध मार्फत कथाले विभिन्न सामाजिक र पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरेको छ। 

    चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा डा. भोला रिजालको हो भने पटकथा तथा संवादमा डा. कपिल रिजाल सहित निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। 

    जापानसँग अरुणको पुरानो सम्बन्ध
    अरुण क्षेत्रीका लागि जापान नयाँ ठाउँ भने होइन। उनी लामो समय जापानमा बसेर चलचित्र तथा अभिनय सम्बन्धी अध्ययन गर्न नेपाल गएका हुन् । चलचित्र क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने उद्देश्यले नेपाल फर्किएका क्षेत्रीले यसअघि पनि आफू जापान छाडेर अभिनय करिअर बनाउन नेपाल आएको बताएका थिए। क्षेत्रीका बुबा–आमा तथा दिदी पनि जापानको टोकियोमै व्यवसाय गर्दै आएका छन्। त्यसैले ‘गौँथली’ लिएर जापान आउँदा उनका लागि यो प्रदर्शन व्यावसायिक कार्यक्रमसँगै आफ्नै परिवार र जापानमा रहेका नेपाली समुदायसँग पुनः जोडिने अवसर समेत बनेको छ।

    गत जुलाई १७ देखि प्रदर्शनमा आएको ‘गौँथली’ले महिलाको शिक्षा, आत्मनिर्भरता, पारिवारिक दबाब र फरक क्षमताका व्यक्तिप्रति समाजको दृष्टिकोणलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।  विशेषगरी अरुण क्षेत्रीले निर्वाह गरेको ‘ठूले’ पात्रले चलचित्रलाई फरक आयाम दिएको छ।

    टोकियोमा पहिलो प्रदर्शनकै टिकट पूर्ण रूपमा बिक्री हुनु र दर्शकको मागपछि अगस्ट २८ मा पुनः प्रदर्शन थपिनु जापानमा नेपाली चलचित्रप्रतिको बढ्दो आकर्षणको संकेतका रूपमा लिन सकिन्छ।
    गौथलीलाई जापान गर्ने शहरहरूमा समेत प्रदर्शन गरिने भएको छ। चलचित्र हेर्नका लागि जापानमा रहेका नेपाली दर्शक उत्साहित देखिएका छन्।

  • सम्बन्धित विषय:

  • # Karisma

  • बिरेन्द्र पौडेल
    लेखकबाट थप