किएभ । युक्रेनको राजधानी किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौं मानिसहको मृत्यु भएको छ । विस्फोटनमा परेर कैयौं घाइते भएको युक्रेनी आपत्कालीन सेवाहरूले जनाएका छन् । युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समयअनुसार बिहानको ८ बजेलगत्तै दुईवटा विस्फोटनको आवाज सुनिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
धेरै महिनाको अन्तरालमा किएभमा ठूलो हमला भएको हो । विस्फोटन युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन् । यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो ।
सामाजिक सन्जालमा राखिएका तस्बिर तथा भिडियोहरूमा किएभको कैयौं भागबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ। किएभमा रहेका बीबीसी संवाददाता पोल एडम्सका अनुसार हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झन्डै ९० मिनेटअघि बजेका थिए ।
