काठमाडौं । सरकारले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।
भिटामिन ‘ए’ कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । दुईदिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सालबाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिन्छ ।
महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिदिनसमेत अनुरोध गरेका छन् । महाशाखाले अभियानबारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइसकेको जनाएको छ ।
