काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकका अनुसार आज (बिहीबार) अपराह्न ३ बजेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोलका माध्यमबाट खरिद गर्न सक्ने गरी उक्त परिमाणमा रिपो जारी गरेको हो ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गरेको हो । राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात् यही कात्तिक ३ गते तोकिएको छ । राष्ट्र बैंकले बजारमा लगानीयोग्य तरलता अभावको समस्यालाई नियन्त्रणमा राख्न रिपो जारी गरेर बजारमा रकम पठाउने गर्छ ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् । यसअघि नेपाल राष्ट्र बैंकले गत भदौ १७ गते सात दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ ३१ गते २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो ।
