काठमाडौं । नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६१० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई शुक्रबार कारबाही गरिएको छ । यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
शुक्रबार गरिएको विशेष जाँच अभियानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरे ।
