किएभ । युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था 'कठिन' रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका छन् । जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले हिमर्स रकेटहरू प्रयोग गरेर उक्त सहरको पूर्वाधार र आवासीय भवनहरूमा प्रहार गरिरहेको बताए। उनले रुसको सरकार सञ्चालित टेलिभिजनमार्फत् उक्त जानकारी दिएका हुन् ।
'रुसी सेनाले प्राथमिक रूपमा खेअरसन क्षेत्रमा बस्ने मानिसहरूको सुरक्षित निकासी सुनिश्चित गर्ने उनले जनाए । ठूला समस्याहरूबारे उनको दुर्लभ स्वीकारोक्तिलाई एकजना शीर्ष स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।रुसीहरूद्वारा नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेअरसनका बासिन्दाहरूलाई निकट भविष्यमा युक्रेनी सेनाले सहरमा आक्रमण गर्न सक्ने चेतावनी दिए ।
'मेरा शब्दहरूलाई गम्भीरतापूर्वक लिनुहोस् - म सकेसम्म चाँडो यो सहर खाली गर्ने बारे कुरा गर्दै छु,' उनले टेलिग्राम नामक सन्देश आदानप्रदान गर्ने सञ्जालमार्फत् भनेका छन् । उनले निपर नदीको पश्चिमी किनारमा अवस्थित, युक्रेनमा निप्रो भनिने क्षेत्रमा मानिसहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका थिए । उक्त क्षेत्रमा रुसले नियुक्त गरेका गभर्नर भ्लादिमिर साल्डोले एक भिडिओ सन्देशमार्फत् उक्त कुरा पुष्टि गरे । फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछि खेअरसन रुसीहरूले कब्जा गरेको पहिलो ठूलो सहर थियो ।
युक्रेनी सेनाले विगत केही सातादेखि त्यहाँ नजिकैको भूभागहरूलाई बिस्तारै पुनः आफ्नो नियन्त्रणमा लिँदै आएको छ । उनीहरूले रुसी सेनालाई फसाउने धम्की दिँदै निपर हुँदै ३० किलोमिटर दक्षिणतिर अघि बढेका छन् । 'समग्रमा विशेष सैन्य कारबाहीको क्षेत्रमा स्थिति तनावपूर्ण छ भन्न सकिन्छ,' जनरल सुरोभिकिनले भने । खेअरसन रुसीहरूले उनीहरूको आक्रमणमा कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो । क्रेम्लिनले अहिले खेअरसन र अन्य तीन युक्रेनी क्षेत्रहरू रुसको अंश भएको दाबी गर्छ । उक्त दाबी अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ ।
कठोर आक्रमण पद्धतिका लागि परिचित जनरल सुरोभिकिनले युक्रेनी क्षेप्यास्त्रको स आक्रमणले खेअरसनस्थित आन्टोनिभ्स्की पुल र काखोभा जलविद्युतको बाँधमा क्षति पुगेको र यी दुई महत्त्वपूर्ण स्थानहरूमा आवागमन अवरुद्ध भएको बताए । जसका कारण खाद्यान्न वितरण, पानी र विद्युतजस्ता अत्यावश्यक सेवाहरूको आपूर्तिमा समस्या सिर्जना भएको उनले जानकारी दिए । तर खेअरसनमा जनरलले व्याख्या गरेको कठिनाइ पुष्टि हुन भने सकेको छैन । उनका अनुसार युक्रेनीहरूले पूर्वमा कुपियान्स्क र लिमानका क्षेत्रहरूमा र दक्षिणमा माइकोलाइभ-क्रिवी रिह मोर्चामा छरिएर लगातार आक्रमणहरू गरिरहेका थिए।
जनरल सुरोभिकिन क्रेम्लिनले युक्रेनमा विशेष सैन्य कारबाही भन्ने रुस युद्धको नयाँ कमान्डर हुन् । रुसको युद्धका एक दिग्गज उनलाई जनरल आर्मागेडनको उपनाम दिइएको छ । उनले सिरियामा धेरै सर्वसाधारणको ज्यान लिने गरी भएका रुसी बमबारीको नेतृत्व गरेका थिए । उनले चेचन्यामा मानवअधिकार उल्लङ्घनको आरोप लागेको सैन्य बलको पनि कमान्ड गरेका छन् । जनरल सुरोभिकिनले वक्तव्य दिएको दिन किएभ र अन्य युक्रेनी सहरहरूमा थप रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणहरू भए तीमध्ये धेरै युक्रेनको विद्युत् आपूर्ति प्रणाली लक्षित थिए । हाल किएभका केही स्थानमा न त विद्युत् छ न त पानी नै । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत आठ दिनमा आफ्नो देशका ३० प्रतिशत ऊर्जा केन्द्र ध्वस्त भएको बताएका छन् । बीबीसी
