किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हवाई आक्रमणबाट ३० प्रतिशत युक्रेनी ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताएका छन् । युक्रेनेर्गोका अनुसार गत फेब्रुअरी २४ यता रुसले आक्रमण गरेपछिको अवधिको तुलनामा गत दश दिनमा विद्युत् केन्द्रहरूमा अत्यधिक आक्रमणहरू भएका छन् । यता, युक्रेनको राष्ट्रिय ऊर्जा कम्पनीले त्यहाँका आम नागरिकहरूलाई सबै विद्युतीय उपकरणहरू चार्ज गर्न आह्वान गरेको छ। रुसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती हुने अपेक्षा गरिएको छ ।
ऊर्जा केन्द्रहरूमा बुधवार फेरि पनि रुसले क्षेप्यास्त्र आक्रमण गर्यो । ऊर्जामा यस्ता आक्रमणको शृंखला अक्टोबर १० देखि जारी छ । एकै पटकमा चार घण्टाभन्दा बढी विद्युत् कटौती हुनुले बिहीबार देशभर असर गर्ने ऊर्जा केन्द्र सञ्चालन गर्ने युक्रेनेर्गोले जनाएको छ । उक्त कम्पनीले फोन, पावर बैंक, टर्च र ब्याट्रीहरू चार्ज गर्न आह्वान गरेको हो ।
'भोलि हामी नियन्त्रित र हिसाब गरेर विद्युत् खपतमा प्रतिबन्धहरू लागु गर्ने छौँ। हामीले यसो गर्नु आवश्यक छ किनकि ऊर्जा वितरण प्रणालीले सन्तुलित रूपमा काम गर्नु पर्छ,' सामाजिक सञ्जालमार्फत् जारी विज्ञप्तिमा भनिएको छ। ऊर्जा खपतका प्रतिबन्धहरू युक्रेनभर बिहान ७ बजेदेखि राति १० बजेसम्म लागु हुन सक्ने युक्रेनेर्गोले जनाएको छ। साथै उसले नागरिकहरूलाई क्षेत्रीय सञ्जाल सञ्चालकहरूको वेबसाइट हेरेर कहाँ र कहिले ऊर्जा कटौती हुन्छ भन्नेबारे सूचित हुन सुझाव दिएको छ।
