पहिला सहयात्री,अहिले प्रतिष्पर्धी

पहिला सहयात्री,अहिले प्रतिष्पर्धी


  • 4.7K
    SHARES
    • कार्तिक ९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    पहिला सहयात्री,अहिले प्रतिष्पर्धी

    दाङ,कात्तिक ९ । 
    २०७४ को प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर जाने सहमती भयो । यो सहमतीसंगै प्रतिनिधिसभाका लागि दाङ २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा उम्मेदवार बने भने एमालेका शंकर पोख्रेल दाङ २ क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बने । माओवादी र एमालेको चुनावी तालमेलले एकले अर्को दलका उम्मेदवारलाई निर्वाचित गर्ने जिम्मेवारीमा दुबै दलका नेता तथा कार्यकर्ताहरु थिए । त्यो बेला माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार रेखा शर्माका लागि अझ बढि जिम्मेवारी थियो । अझ भनौ एमालेका पोख्रेल र माओवादीकी शर्मा चुनावी सहयात्रीका रुपमा मैदानमा उत्रिए । उनि बाम गठबन्धनको चुनावी मोर्चामा खटिईन् , आफू, आफ्नो दलका उम्मेदवार संगै एमालेका पोख्रेलको जीतका लागि पनि दौडधुप गर्नु पर्यो ।

    images

    शर्मा सम्झिन्छिन् ‘पार्टी एकताको प्रारम्भिक चरणका रुपमा भएको चुनावी तालमेललाई सफल पार्नु दायित्व मेरो पनि थियो नि, फेरी म त्यो बेला आफै उम्मेदवार पनि थिएँ ।’निर्वाचन पछि पोख्रेल र शर्मा एकै दलका नेता समेत बने । माओवादी र एमाले बिच पार्टी एकता भएर बनेको नेकपामा शर्मा केन्द्रीय सदस्य बनिन् भने पोख्रेल स्थायी कमिटि सदस्य बनेका थिए । यो बेला उनिहरु बिच त झन पार्टीलाई मजबुत बनाउनका लागि आपसी सरसल्लाह र योजना निर्माणका बिषयका आन्तरिक छलफल हुने नै भए । ‘त्यो बेला हामीहरु बिच पार्टी मजबुतीका लागि सरसल्लाह, योजना बनाउने सम्मका बिषयमा सहकार्य हुन्थ्यो,’ रेखा भन्छिन् ‘हामी एकै जिल्लाका नेताहरु भएकाले पनि यो सहकार्य आवश्यक पनि थियो ।’

    गत निर्वाचनमा एक अर्काको चुनावी सहयात्री बनेर विजयी माला पहिरिएका उनै दुबै सहयात्री अहिले भने एक अर्काका कट्टर प्रतिष्पर्धी बनेका छन् । उनिहरु आगामी निर्वाचनका दाङ २ बाट प्रतिनिधिसभा सदस्यका लागि एक अर्काका मुख्य प्रतिष्पर्धी हुन् । शर्मा सत्तारुढ गठबन्धनको बलमा पुराना सहकर्मी पोख्रेललाई हराउने योजना मुताबिक मैदानमा उत्रिएकी छिन् भने पोख्रेललाई एकल बलबुताका भरमा आगमी निर्वाचन जित्नु पर्ने दबाब छ । ‘राष्ट्रहितका लागि हिँजोको त्यो सहकार्य तोडिएको सबैलाई जगगजाहेर नै छ,’ रेखा भन्छिन् ‘संविधान मास्न खोज्ने उहाँहरु र रक्षा गर्न खोज्ने हामीहरु बिच लामो सहकार्य हुने कुनै भएन नि ।’ उनका अनुसार पोख्रेल संगको पार्टीगत सहकार्य तोडिनुको एक मात्रै कारण हो – राट्रियता बिरोधी एमालेको कदम । यहि एजेण्डाले पुराना सहकर्मीलाई पाखा लगाएर आफ्नो सहज जीतको दिलाउनेमा बिश्वस्त छिन् रेखा ।

    सहज छैन शंकरको बाटो  

    गत २०७४ कै निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले नेता शंकर पोख्रेलको अवसरमाथि आफ्नै पार्टीले  माओेवादी संग गरेको चुनावी तालमेल बाधक बनिदियो । यहि तालमेलकै कारण रोल्पाका माओवादी नेता कृष्णबहादुर महराले पोख्रेलको उम्मेदवारी खोसिदिए । फलतः प्रतिनिधिसभाको उम्मेदवारी तयारी गरिरहेका पोख्रेल प्रदेशसभामा खुम्चीए ।

    भलै पोख्रेल प्रदेशसभाको उम्मेदवारका रुपमा राजी हुन एक सर्त मात्रै राखे ‘प्रदेशको मुख्यमन्त्री पक्का ।’ प्रदेशको मुख्यमन्त्री बनेर एमाले राजनीतिमा थप ‘ओज’ कायम गर्ने एक मात्रै बिकल्प पोख्रेलका लागि थियो पनि । निर्वाचनमा महरासंग सहकार्य गरेका पोख्रेलले निर्वाचन जिते अनि प्रदेशको मुख्य मन्त्री बनेपनि ।
    अघिल्लो निर्वाचनमा प्रदेशसभा उम्मेदवार बनेका पोख्रेलका लागि ५ बर्ष अघिको सपना प्रतिनिधिसभा सदस्य बन्ने अवसर आएको छ । उनि दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर संघीय संसद प्रवेशको तयारी गरिरहेका छन् । एमालेका महासचिव पोख्रेलको जीतका लागि एमाले जिल्लाको पुरै शक्ति अहिले क्षेत्र नम्बर २ मै केन्द्रीत बनेको छ ।

    एमालेको निर्णायक राजनीतिमा प्रभाव राख्दै आएका पोख्रेलका लागि आगामी निर्वाचन संघीय संसद प्रवेशको ढोका मात्रै बनेको छैन, जिल्लाकै एक मात्रै ‘हेभिवेट’ नेता बन्ने अवसर समेत हो । ‘उहाँ (पोख्रेल)अब जिल्लाको एक मात्रै हेभिवेट नेता हो,’ गत निर्वाचनमा पोख्रेलको चुनावी प्रचारको नेतृत्व गरेका बिकिरण गौतमले भने ‘अबको जीत उहाँका लागि अपरिहार्य हो, र जीत सहज पनि छ ।’ त्यसोत, एमालेले पोख्रेललाई आगामी पार्टी अध्यक्ष संगै भावी प्रधानमन्त्रीका रुपमा समेत परिचित गराउन थालिसकेको छ । केहि दिन अघि पार्टीको आन्तरिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भनेका थिए ‘उहाँ अबको पार्टी अध्यक्ष हो, र भावी प्रधानमन्त्री पनि हो,यसर्थ हामी पार्टीका सबै नेताहरु उहाँको जीतका लागि एक भएर लाग्नु पर्छ ।’  

    ‘साख’ फर्काएका शंकर

    विद्यार्थी आन्दोलनबाट बाम राजनीतिमा स्थापित भएका शंकर पहिलो पटक २०५१ मा संसदीय निर्वाचनमा भिडेका थिए । कांग्रेसका दिपक गिरीसंक्ष् तत्कालीन क्षेत्र नम्बर २ मा भिडेका शंकर निर्वाचित भएका थिए । २०५६ को संसदीय निर्वाचनमा पनि उम्मेदवार बने । तर त्यो बेला जीत दोहेर्याउने शंकर प्रयास बिफल बन्यो । कांग्रेसका कृष्णकिशोर घिमिरेसंग उनि पराजित बने । त्यसपछिको पहिलो संविधानसभा निर्वाचनमा शंकरले पुनः जीत फर्काउन चाहन्थे । तर उनि प्रत्यक्ष तर्फ उम्मेदवार चुनिएनन् ।

    उनि समानुपातिक सुचीमा परेर संविधान सभा सदस्य बने । त्यो बेलाको उनको संसद प्रवेश उनको राजनीतिक जीवनमै ऐतिहाँसिक बन्यो । उनि त्यो बेला (२०६६) मा पहिलो पटक सूचना तथा सञ्चार मन्त्री बनेका थिए । 
    ०५१ यता प्रत्यक्ष निर्वाचन तर्फ मतदाताको रोजाईमा पर्न नसकेका पोख्रेलका लागि पछिल्लो संविधानसभा निर्वाचन उनको राजनीतिक ‘करिअर’ का लागि महत्वपूर्ण थियो । उनि त्यो बेला पुनः भिडे । तर उनको प्रत्यक्ष निर्वाचन तर्फ ‘ह्याट्रिक हार’ भयो । क्षेत्र नम्बर ३ मा भिडेका उनलाई कांग्रेसका बुद्धिराम भण्डारीले पराजित गरेका थिए । 

    ५१ यता लगातारको तेस्रो हार पछि पोख्रेलको राजनीतिक अवस्थालाई कमजोर आँकलन गर्न थालियो । त्यसमा पछि पछिल्लो संविधानसभा निर्वाचनमा आफू भन्दा निकै कमजोर उम्मेदवार मानिएका कांगे्रसका भण्डारीले पराजित गरेको भन्दै पोख्रेलको कमजोर राजनीतिको आँकलन एमाले भित्रै पनि भएको थियो । तर गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उनको राजनीतिको ‘टर्निङ प्वाईन्ट’ बनिदियो । माओवादीसंगको तालमेलमा भएको उक्त निर्वाचनबाट शंकरले प्रदेशसभामा सहज जीत निकाले । उक्त निर्वाचनलाई उनको राजनीतिको ‘भविष्य निर्धारण’का रुपमा मानिएको थियो । प्रदेशसभामा निर्वाचित भएपछि प्रदेशको मुख्यमन्त्रीको ‘ओहदा’ मा शंकर पुगे । यसले उनको राजनीतिक ‘ओज’ लाई थप मजवुत बनाईदियो । 

    पार्टीमा पनि ‘लट्रि’

    विद्यार्थी आन्दोलन हुँदै पार्टीका विभिन्न भूमिकामा रहेर काम गरेका शंकर पहिलो पटक एमालेको छैठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । यसैगरि आठौँ महाधिवेशनमा उनको पार्टी भित्रको ओहदा बढुवा भयो, उनि एमालेको केन्द्रीय सचिवमा निर्वाचित बने । नवौँ महाधिवेशनमा उनले आफूलाई फेरी बढुवा गर्न खोजे । तर उनि बिफल भए । पार्टीको उपमहासचिवमा भिडेका शंकर त्यो बेला पराजित बने । उनि केन्द्रीय सदस्यमा मात्रै सिमित बने ।

    एकातिर संसदीय निर्वाचनमा लगातार हार, अनि पार्टी राजनीतिमा समेत ब्यहोर्नु परेको हार शंकरका लागि अर्को दुर्भाग्य थियो । यता दाङको एमाले शिर्ष नेता को बन्ने भन्ने प्रतिष्पर्धामा रहेका युवराज ज्ञवालीका लागि शंकरको हार बरदान सावित भयो । उनि त्यो बेला एमालेको उपाध्यक्षमा निर्वाचित भएका थिए । दाङको एउटै निर्वाचन क्षेत्रका ज्ञवाली र पोख्रेल बिच लामो समय देखि आन्तरिक राजनीतिक प्रतिष्पर्धा चल्दै आएको थियो । यि दुई नेता मध्य ज्ञवाली माधव कुुमार नेपाल निकट थिए भने पोख्रेल केपी ओली निकटस्थ थिए । यि दुई नेताबिच जिल्लामा आ आफ्नो गुटलाई मजवुत बनाउने प्रतिष्पर्धा चल्दै आएको थियो ।

    उपमहासचिवमा पराजित बनेपनि पोख्रेल मुख्यमन्त्री बनेर आफ्नो हैसियतलाई उचो बनाउने मार्ग कोरिसकेका थिए । यसैक्रममा एमाले र माओवादी बिच पार्टी एकिरण भयो । दुई पार्टी एकिकरण पछि बनेको नेकपा को केन्द्रमा रहेर पोख्रेलले काम गर्ने अवसर पाए । उनि प्रदेशको नेतृत्वकर्ता( मुख्यमन्त्री) बनेको भएपनि उनको राजनीति भने काठमाडौँ केन्द्रीत नै थियो । एमाले अध्यक्ष केपी ओलीको वरीपरी ‘चक्कर’ काट्न सकृय पोख्रेललाई ओलीका अघोषित राजनीतिक सल्लाहकारका रुपमा चर्चा समेत गरिएको थियो र अहिले पनि गरिन्छ । त्यो बेला मुख्यमन्त्री भएपनि प्रदेशमा नबस्ने मुख्यमन्त्रीका भनेर पोख्रेलको आलोचना समेत भएको थियो । ओली रोजाईमा परेका पोख्रेल नेकपा भित्र एमालेका चतुर खेलाडीका रुपमा प्रस्तुत हुने अवसर पाए ।

    उता नेकपा भित्र शंकरको रजगज चल्दा उनकै जिल्लाका अर्का नेता युवराज ज्ञवाली भने गुमनाम बने । माओवादी र एमालेको एकिकरण पछि नेकपा बनेपछि ज्ञवालीको उपाध्यक्ष पद नै खारेज भयो । उनि पद बिहिनताकै अवस्थामा रहे । शंकरका लागि जिल्लामा एकल नेता बन्ने यो अर्को अवसर बन्यो । नेकपा बिभाजन पछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किए ।

    ज्ञवाली एमालेको उपाध्यक्ष कायम भए । ज्ञवालीका लागि एमालेको केन्द्रीय राजनीतिमा पुनरागमन गर्ने अवसर त आयो तर अध्यक्ष ओलीले उनलाई त्यो भुमिकामा आउन दिएनन् । तथापी चितवनमा सम्पन्न पार्टीको १० औँ महाधिवेशनमा पोख्रेल र ज्ञवाली दुबै पार्टीको पदाधिकारीमा भिडे । ज्ञवाली उपाध्यक्षमा भिडे भने पोख्रेल पार्टीको कार्यकारी पद महासचिवमा भिडे । दुबै नेता पदाधिकारीमा चुनिए । तर ज्ञवाली भन्दा पोख्रेललाई पार्टी भित्र हावी हुने अवसर उनको पदले जुराईदियो ।  फलतः नवौँ महाधिवेशनमा उपमहासचिवमा हार बेहोरेर केन्द्रीय सदस्यमा आफूलाई खुम्च्याएका पोख्रेलले गत महाधिवेशनबाट आफूलाई पार्टीको निर्णायक भूमिकामा फर्काए । 

    आलोचित ‘मुख्यमन्त्री’

    प्रदेशसभाको आधा कार्यकाल भन्दा बढि मुख्यमन्त्रीको ओहदामा रहेका शंकर पोख्रेलले आफूलाई ‘सत्ता मोह’ को पर्याय सावित गरिदिए । त्यसोत, प्रदेश तहबाट पनि नागरिकले उदाहरणीय बिकासको अनुभुती पनि गर्न पाएनन् । नेकपा खारेजी पश्चात आफ्नो नेतृत्वको सत्ता जोगाउनका लागि मरिहत्ते गरेका पोख्रेलले आफूलाई दिईँदै आएको बैचारिक÷राजनीतिक सहि सिद्धान्त बोकेका नेताको उपमा जोगाउन सकेनन् । यहाँ सम्मकी जघन्य अपराधको आरोपित समेत बन्न भ्याए ।  २०७४ को प्रदेशसभा निर्वाचनबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित शंकर पोख्रेल ०७४ फागुन ३ मा मुख्यमन्त्री चुनिए । ५ बर्ष सम्मै सरकारको नेतृत्व गर्ने लक्ष सहित ‘बहुमत मुख्यमन्त्री’ चुनिएका शंकरका लागि गत अघिल्लो बैशाख यता राजनीतिक घटनाक्रम धरमराउन थाल्यो । नेकपा खारेजी, एमालेमा देखिएको त्यो बेलाको सम्भावित पार्टी बिभाजनको घटनाक्रमले शंकर अल्पमत उन्मुख हुँदै गए ।

    तथापी साढे तीन बर्ष सम्म सत्तामाथि एकल ‘रजगज’ चलाएका पोख्रेल सत्ताको बागडोर छोड्ने पक्षमा भने देखिएनन् । किमार्थ सत्ता गुम्न नदिने उनको अन्तिम ‘जोडबल’ ले उनलाई ‘अपहरण तथा शरिर बन्धक’ जस्तो जघन्य अपराधको आरोपित बनाईदियो । प्रदेशसभा सदस्य बिमला ओलीले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल सहित चारजना बिरुद्ध यो मुद्धा हालेकी थिईन् । शंकर सहित एमाले प्रदेशसभा प्रमुख सचेतक भुमिश्वर ढकाल, पोख्रेलको सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावत बिरुद्ध जाहेरी दिएकी हुन् ।  ‘मलाई जसरी हुन्छ सिध्याउनै मात्रै खोजे,म शान्त संग बस्नै पाएन,’ पोख्रेल बिरुद्ध मुद्धा हालेकी सांसद बिमलाले त्यो बेला नागरिकसंग भनेकी थिईन् ‘अनि म माथि भएको अपराधको हिसाब किताब खोज्न कानुनी बाटो रोजेकी हुँ ।’ ओलीले दाङबाट आँफूलाई अपहरण गरेर बुटवलमा पुर्याई तत्कालीन मुख्यमन्त्री पोख्रेलको निवासमा ५ दिन सम्म बन्धक बनाएर राखेको उल्लेख गरेकी थिईन् ।

    पोख्रेल बिरुद्धको यो मुद्धा उनको ‘सत्तामोह’ कै प्रतिफल हो । सत्ताबाट बिमुख हुनै नचाहने ‘शंकर ईच्छा’ को अन्तिम जोड बल उनै ओलीलाई अपहरण गरेर बन्धक बनाएको घटनासम्म जोडिन पुग्यो । ६ बैशाखमा उनि बिरुद्ध पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता भयो । सरकारले संसद अन्त्य गरेको बेला दर्ता भएको अविश्वास प्रस्ताव उपर कारवाहीका लागि बिपक्षी गठबन्धनले संसदको बिशेष अधिवेशन माग गरेको थियो । तर तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले बिपक्षीको मागलाई ईन्कार गरिदिए , शंकरमाथिको अविश्वास प्रस्ताव यत्तिकै थन्कीयो ।
    ६ बैशाखबाट संकटमा पर्न सुरु भएको शंकर नेतृत्वको सत्ता १९ बैशाखमा झनै कठिन मोडमा पुग्यो । प्रदेश प्रमुखले १९ वैशाखमा संसद बैठक आह्वान गरे । ६ वैशाखमा दर्ता भएको अविश्वासको प्रस्ताव उपर यो बैठकमा छलफल हुनै पाएन । कारण —शंकर पोख्रेलले संसद बैठक अगावै मुख्यमन्त्री पदबाट राजीनामा दिईहाले अनि उसै दिन पुनः संसद अन्त्य गरिदिए । 

    पुनः आँफै एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने योजनामा रहेका पोख्रेल यो बेला भने धेरै आलोचित बन्न पुगे । १९ बैशाखमै एमालेका दुई सांसदले राजीनामा दिए , अनि एक सांसद बिमला ओलीले दल रोज्न पाउने अधिकार प्रयोग गर्दै माओबादी केन्द्र रोजिन् । उनि तत्कालीन नेकपा बाट प्रदेशसभाको उपनिर्वाचन जितेकी थिईन् । नेकपा खारेजी पश्चात कुनै एक दल रोज्न पाउने अधिकार उनलाई थियो । आफ्नो पार्टीबाट तीन सांसद घटिसकेपछि स्पष्ट अल्पतमा देखिएका पोख्रेलले १९ वैशाखमा ‘सत्ता’ कै लागि चलाखी गरे — राजीनामा दिएका दुई र माओबादी रोजेका एक सांसद सहित बहुमत सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुख समक्ष पुनः मुख्यमन्त्रीमा दाबी गर्न गईपुगे । उनि त्यहि दिन पुनः मुख्यमन्त्री चुनिएपनि ।  

    फर्जी हस्ताक्षर सहित दोस्रो पटक मुख्यमन्त्री चुनिएका पोख्रेल बिरुद्ध बिपक्षीहरुले पुनः संसदमा फेरी चुनौती पेश गरे । कुल ८३ सांसद संख्यामा झरेको प्रदेशसभामा बिपक्षी समुहले ४२ सांसद अर्थात बहुमत सांसद पुर्याएर संसदमा २४ बैशाखमा पुनः अविश्वासको प्रस्ताव पेश गरे , अनि प्रदेश प्रमुख समक्ष संसदको बिशेष अधिवेशनको माग गरे । तर प्रदेश प्रमुखले योे पटक पनि संसद बोलाईदिएनन् । त्यसोत, संसदको बजेट अधिवेशन बहिस्कार गरेर हिँडेका तत्कालीन मुख्यमन्त्री पोख्रेलको सत्ता टिकाउने यो अर्को चालबाजी थियो । संसद बैठक बहिस्कार गरेर हिँडेका शंकरले संसद अधिवेशन त्यो बेला पनि अन्त्य गरिदिए र अध्यादेश मार्फत बजेट ल्याईदिए ।

    संघीय सत्ता फेरबदल संगै नयाँ प्रदेश प्रमुख फेरिएपछि भने सत्ता टिकाउन ‘संसद छल्ने’ रणनीति फेल हुने निश्चत बन्यो । यो बेला सांसद आँफू पक्षमा राख्न शक्ति लगाउनु मात्रै उनका सामु बिकल्प थियो । प्रदेश प्रमुख अमिक शेरचनको पदबहाली पश्चात शक्तिशाली बनेको बिपक्षी गठबन्धनले पोख्रेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता सहित संसदको बिशेष अधिवेशन आह्वानको माग गरे । 
    प्रदेश प्रमुखले गत बर्षको २७ साउनमा संसदको बिशेष अधिवेशन आह्वान गरे । जसपाका तीन सांसदको पद खोसिएपछि ८० सांसद संख्यामा झरेको प्रदेशसभामा शंकरले ४१ मत कायम राख्न सक्नु पथ्र्यो ।

    तर उनको दल एमालेमा जम्मा ३८ मत मात्रै थियो । उता बिपक्षी गठबन्धनको पक्षमा सांसद बिमला सहित देखिएको बहुमत (प्रदेश सभाका सभामुख बाहेकको)४१ मतलाई तोड्न चान्थे शंकर । फलतः उनै सांसद बिमलालाई शंकरले सत्ता जोगाउने ठूलो अस्त्र बनाउन खोजे । बिमला एमालेमै फर्किएको भए बिपक्षी गठबन्धनको बहुमत तोडिने र कसैको पनि बहुमत नपुग्ने अवस्थामा ठूलो दलको हैसियतले पुनः आँफैले सरकारको नेतृत्व गर्ने दाउपेचमा शंकर थिए ।
    फलतः २० साउनमा बिमलालाई अपहरण गरेर बन्धक बनाएको राजनीतिक आरोपको शिकार शंकर बन्न पुगे । साउन १६ मा सांसद बिमला एकाएक बेपत्ता भएको सार्वजनिक भयो । दाङबाटै सम्पर्क बिहिन भनिएकी बिमलालार्ई शंकर पोख्रेलको योजनामा अपहरण गरेर उनै शंकरकै निवासमा ५ दिन सम्म बन्धक बनाएको २० साउनमा उनै बिमलाले सार्वजनिक गरिन् । 

    स्थायी राजधानीको ‘जस’

    गत प्रदेशसभा निर्वाचन पछि तत्कालीन ५ नम्बर प्रदेशको अस्थायी राधजानी कहाँ तोक्ने भन्ने बहसले नेपाली राजनीतिमा ठूलै चर्चा पायो । बुटवल र दाङको पक्षमा उभिएका फरक फरक मतलाई सम्बोधन गरेर अस्थायी मुकाम कायम गर्न शंकरका लागि चुनौती थियो । त्यसोत, ‘प्रदेशको राजधानी दाङ’ कै अजेण्डाले चुनाव जितेका पोख्रेलका दाङ प्रदेशको मुकाम दाङ तोक्नु अझ बढि दबाब थियो । तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राधजानी बुटवललाई तोकिदियो । त्यसको आलोचित शंकर पोख्रेल बने । तर उनै पोख्रेलले स्थायी राधजानीको जस पनि लिए । पोख्रेल नेतृत्वकै सरकारका पालामा स्थायी राजधानी दाङको भालुवाङमा घोषणा गरिएको थियो । फलतः उनको नेतृत्वको सरकारका पालामा भएको यो निर्णयलाई दाङले पोख्रेललाई जस दिएको छ ।  एमालेले पनि पोख्रेलको जीतका लागि स्थायी राजधानी घोषणाको मुद्धालाई चुनावी मुद्धा बनाउने आधार मिलेको छ ।  
    फेरी होला ‘बढुवा’ ?
    अघिल्लो निर्वाचनबाट प्रदेशसभामा निर्वाचित शंकर पोख्रेलले आफूलाई यसपटक भने पुनः बढुवा गर्न खोजेका छन् । उपल्लो संसद प्रतिनिधिसभा सदस्यका रुपमा आगामी निर्वाचनबाट आफूलाई बढुवा गर्न खोजेका शंकर आगामी निर्वाचनको गृहकार्यमा खटिएका छन् । तर उनको बढुवा त्यति सहज पनि देखिन्न । एकातिर कांग्रेस, माओवादी लगाएतको गठबन्धनका उनका सामु ठूलो चुनौती बनेर उभिएको छ । उनको क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् । गठबन्धनका तर्फबाट एक मात्रै साझा उम्मेदवार चयन हुँदा एमालेको एकल उम्मेदवारका रुपमा भिड्दा पोख्रेलको बाटो त्यति सहज देखिन्न । तथापी कांग्रेस र माओवादीको गढ बंगलाचुलीलाई भत्काएर सहज जीत निकाल्ने दाउमा शंकर र उनको पार्टी एमाले छ ।

    फलतः एमालेले आफ्नो शक्ति बंगालाचुलीमा खर्चिरहेको छ । यता स्थानीय तहको निर्वाचनमा वडा देखि गाउँपालिकाको नेतृत्व सम्म क्लिन स्वीप गरेको कांग्रेस माओवादी गठबन्धनले एमालेको यो प्रयासलाई निष्तेज पार्नेमा ढुक्क छ । ‘एमालेको शक्ति बंगलाचुलीमा केन्द्रीत छ ,’ माओवादी केन्द्रका एक नेताले भने ‘तर हामीहरु त्यो शक्तिलाई परास्त गर्छौँ ।’
    तथापी पार्टीका महासविचलाई जसरी पनि जिताउनै पर्ने दबाबमा रहेको एमालेले आफ्नो पुरै शक्ति दाङ २ मा केन्द्रीत गरेको छ । स्थानीय तहको निर्वाचनमा यसै क्षेत्रको ठूलो स्थानीय तह घोराही उपमहानगरमा निकालेको आफ्नो एकल जितलाई उसले आगामी निर्वाचनमा जीतको पहिलो आधार मानेको छ ।  ‘हामीहरु दाङ क्षेत्र नम्बर २ मा बलियो छौँ र हाम्रो जीत सहज छ,’ एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेतले भने ‘घोराही उपमहानगरपालिकामा हाम्रो एकल जीत भएको छ,यसर्थ पनि जनमत हाम्रो पक्षमा छ ।’ 

    यस्तो छ, ५ महिना अघिको चुनावी अंकगणित 

    गठबन्धन र एमालेले निकै चासोका साथ हेरेको जिल्लाको २ नम्बर क्षेत्रको गत स्थानीय तहको वडागत मत गठबन्धनको भन्दा एमालेको कमै छ । तर यहाँको मतान्तर भने खासै ठूलो देखिन्न । यो क्षेत्रका वडाहरुमा गठबन्धन भन्दा एमाले झण्डै तीन हजार मतको अन्तरले पछाडि देखिएको छ । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा प्राप्त वडागत मत गठबन्धनको ३६ हजार १ सय ४६ छ भने एमालेको ३३ हजार ५ सय ९३ छ । 
    यो क्षेत्रको घोराही उपमहानगरका १ नम्बर क्षेत्रमा पर्ने १,२,३ र ५ वडा बाहेक १५ वटा वडाको प्राप्त मत गठबन्धनको २४ हजार ५ सय ४८ छ भने एमालेको २३ हजार ९ सय ८६ छ । यसैगरि २ नम्बर क्षेत्रमा पर्ने तुलसीपुरका १६,१७,१८ र १९ नम्बर गरि ४ वडा वडाको मत गठबन्धनको पक्षमा ५ हजार ३५ र एमालेको पक्षमा ६ हजार २५ देखियो । यसैगरि यो क्षेत्रको बंगलाचुली गाउँपालिकाका कुल ८ वडामा प्राप्त मत गठबन्धनको पक्षमा ६ हजार ५ सय ६३ र एमालेको पक्षमा ३ हजार ५ सय ८३ रह्यो । 

    शंकरको राजनीतिक यात्रा

    शंकर पोखरेलको जन्म विक्रम सम्वत २०१९ साल फागुन १५ गत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलका देवीको कान्छो सन्तानका रुपमा भएको हो । उनले बि.कम. सम्मको अध्ययन बनारसबाटै पुरा गरे । उनि २०३५ सालबाट विद्यार्थी राजनीतिमा संलग्न भए भने २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भएका थिए । २०३७ सालमा पहिलो पटक जेल परे । विद्यार्थी राजनीतिकै क्रममा पटक पटक पक्राउ परेका उनले भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीहरुको हक हितको पक्षमा बोले ।

    त्यही क्रममा उनि जननेता मदन भण्डारीको सम्पर्कमा पुगे । नेता भण्डारीकै मार्गदर्शन र प्रेरणामा पोखरेल २०४२ सालमा नेपाल फर्किएर विद्यार्थी राजनीतिमा संगठित र क्रियाशील भए । उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को वागमती अंचल कमिटिमा रहेर काम गरे भने २०४५ सालमा उनि त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका थिए । २०४६ सालमा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको जनआन्दोलनमा सहभागी पोखरेल अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–माक्र्सवादी एकतापश्चात अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । २०५१ सालमा प्रतिनिधि सभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा सकृय बने । २०५४ सालमा तत्कालीन विद्यार्थी नेतृ सुजिता शाक्यसँग जनवादी विवाह गर्नुभएका पोखरेल दम्पत्तीका दुइ छोरी छन् ।  २

    ०५१ सालमा भएको आम निर्वाचनबाट निर्वाचित पोखरेल त्यही अवधिमा पार्टीको प्रचार विभाग प्रमुख बने । एमालेको २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बने । २०६५ सालमा वुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ मा सम्पन्न नवौं महाधिवेशनपछि पार्टी स्थायी समिति सदस्यको भूमिकामा रहे ।

    पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) सरकारको ढलेपछि २०६६ सालमा नेकपा (एमाले) को नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यो बेला समानुपातिक तर्फबाट संविधानसभा सदस्य रहेका पोखरेल सूचना तथा सञ्चार मन्त्री बनेका थिए । २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा पोखरेल दाङ क्षेत्र नम्वर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । त्यसपछि उहनि तत्कालीन प्रदेश नं. ५ हालको लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बने ।  नेकपा (एमाले) का लोकप्रिय नेता शंकर पोखरेल २०७८ मंसिरमा चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट महासचिव चुनिएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गरेका छन् । 

    द्धन्दले उबाजेकी ‘नारी शक्ति’ रेखा

    एमाले महासचिव पोख्रेल बिरुद्ध सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मा हेभिवेट पोख्रेलका लागि निकै खतरा बन्ने लख काटिएको छ । सिंगो गठबन्धनको पुरापुर मत उनको पक्षमा रहे रेखाका लागि सहज जीत पक्का छ । फलतः गठबन्धनमा आवद्ध दलहरुको मत जोगाउने योजना सफल पार्ने योजनामा उनि छिन् । त्यसोत, उनको राजनीतिक लगाव र योगदान कम भने हैन । तत्कालीन १० बर्षे सशस्त्र द्धन्द छिचोलेर राजनीतिको मूल प्रवाहमा आईपुग्दाका उनका अनुभुतीहरु निकै दुखदायी छन् ।

    त्यो दुखले खारिएर अहिले आफूलाई चुनावी मैदानमा उतारेकी रेखाले आफ्नो चुनावी लडाईँलाई अधिकार प्राप्तीको लडाईका रुपमा अथ्र्याउँछिन् । दुई पटक सांसद संगै एक पटक मन्त्री बनिसकेकी रेखाले आफ्नो ‘ओज’ लाई पनि जीतका लागि काफी देखेकी छिन् ।  
    ‘हिँजो मेरो सुरुवाती राजनीति अधिकार प्राप्तीका लागि थियो,’ उनले भनिन् ‘अहिलेको लडाई पनि त्यहि अधिकार प्राप्तीका निम्ती नै हो ।’ द्धन्दका क्रममा लागेको चोटले कुँजो बनेको शरिरलाई मतदातासंगको साक्षात्कारका निम्ती बस्ती बस्तीमा कुदाईरहनु परेको छ रेखाले । ‘द्धन्दमा पाएको चरम यातनाले ढाड अहिले पनि दुख्छ,’ उनले भनिन् ‘तथापी आम नागरिकले पाउनु पर्ने अधिकारका निम्ती मैले मेरो कुँजो शरिरलाई बिश्राम दिन मिल्दैन ।’

    दाङ घोराही  रझेनामा २०२६ असोज ९ गते बाबु गिरीराज शर्मा र आमा स्व.पार्वति पौडेलको कोखबाट जन्मीएकी रेखाले २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीतिक जीवन शुरुवात गरेकी थिइन् । दाङ स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तह उत्र्तिण गरेकी रेखा पढाईका क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन् । त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन् । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी अनेमसंघको केन्द्रीय सदस्य बनिन् । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन् ।

    माओवादी राजनीतिक यात्राका क्रममा उनको बिवाह २०५१ मा प्यूठानका कृष्णध्वज खड्कासंग भयो । खड्का अहिले लुम्बिनी प्रदेशका अर्थमन्त्री हुन् । माओवादी राजनीतिक यात्राका क्रममा शर्मा र खड्का एकअर्का संग त्यति घुलमिल भने थिएनन् । उनिहरु बिच राजनीतिक साईनो मात्रै थियो । अपरिचित उनिहरु मध्य खड्काको रोजाईमा रेखा परिसकेकी थिईन् । ‘तर मलाई यो कुरा थाहा थिएन,’ उनले भनिन् ‘हामी राजनीतिक सहयात्री भएपनि त्यो बाहेक मैले उहाँलाई अरु सोचेको थिएन ।’ खड्काले नै शर्मासंग बिवाह गर्ने प्रस्ताव पार्टी समक्ष राखे । पार्टीले रेखा अनि उनको परिवारसंग बिवाहका लागि प्रस्ताव गर्यो । शर्मा अनि उनको परिवारले विवाहको सहमती दिए ।

    ‘पार्टीको प्रस्तावमा परिवारले मेरो विवाह गरिदियो,’ उनले भनिन् ‘हाम्रो प्रगतीशिल बिवाह भएको हो ।’ खड्का अनेरास्ववियुका केन्द्रयि अध्यक्ष बनेका कारण उनि काठमाडौँमै बस्थे , अनि अनेमसंघको केन्द्रीय सदस्य बनेकी रेखा पनि श्रीमानसंगै काठमाडौँमा बस्न थालिन् । त्यसैबेला जनयुद्ध सुरु भयो । उनिहरु दुबै जना अर्धभुमिगत बने ।  उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष बनेकी रेखाले आफ्नो नेतृत्वमा सिंहदरबार भित्रै २०५५ मा गरेको आन्दोलनलाई उनले ठूलो उपलब्धी मान्छिन् ।

    पैत्रिक सम्पत्ति माथि महिलाहरुको समेत समान अधिकार हुनुपर्छ भन्दै शर्माको नेतृत्वमा महिलाहरुको समूह त्यो बेला छापामार शैलीमा सिंहदरबार प्रवेश गरेर नाराबाजी गरेको थियो । ‘अहिले पैत्रिक सम्पत्ति माथि पनि महिलाहरुको समान अधिकार रहने कानुन बनेको छ,’ उनले भनिन् ‘मैले यो मुद्धा कार्यान्वयन हुनुपर्छ भनेर २०५५ सालमा  छापामार शैलीमा सिंहदरबार भित्रै छिरेर नाराबाजी गरेकी थिएँ, त्यो बेला म लगाएत महिलासाथीहरु पक्राउ पनि पर्यौँ ।’ २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख बनिन् ।

    २०५८ मा मुलुकमा संकटकाल लागु भएपछि रेखाको परिवारमा संकट आईलाग्यो । माओवादी सहित उसका जनवर्गीय संगठन समेतका नेताहरुलाई समेत नियन्त्रणमा लिने राज्यको पहिलो निशानामा रेखा अनि उनका श्रीमान कृष्णध्वज परे । उनिहरु ०५८ चैतमा काठमाडौँ चाबहिल स्थित आफ्नै डेराबाट पक्राउ परे । तत्कालीन सेनाको नियन्त्रणमा लिएपछि रेखाले नर्ककै अवस्था भोग्नु पर्यो । ‘त्यहाँ भित्र भएका अत्याचारको बर्णण्न गरेर साध्य नै छैन,’ उनले भनिन् ‘नांगो बनाएर पिच रोडमा घिसार्ने देखि बुट बजारिएका कैयन यातनाले बाँच्ने साहश मरेर आउँथ्यो ।’ नियन्त्रणमा आएको एक बर्ष पछि ०५९ चैतमा उनिहरु मुक्त भए ।

    रेखाका अनुसार तत्कालीन राज्य पक्ष र माओवादी पक्षबिच २०५८ माघमा वार्ताको वातावरण बन्दै थियो । वार्ताका लागि माओवादीले रेखा र उनका श्रीमान कृष्णध्वजको रिहाईलाई प्रमुख सर्त बनाएको थियो । ‘त्यसपछि हामीहरुलाई लगाईदिएको मुकुण्डो पनि हटाईयो,’ रेखाले भनिन् ‘हामीहरु माथि यातना पनि रोकिँदै गयो, अनि ०५९ चैतमा हामीहरु रिहाई भयौँ ।’

    सेनाको ब्यारेकबाट निस्कदा रेखा र उनका श्रीमान कृष्णध्वज दुबै कुँजो भएर निस्के । रेखाको मेरुदण्डको हड्डि भाँचिएको थियो भने उनका श्रीमान कृष्णध्वजको हात, खुट्टा र करङ भाँचिएको रेखा बताउँछिन् । ‘ब्यारेक बाट निस्केपछि हामीहरु भारतमा बसेर तीन बर्ष सम्म उपचार गर्यौँ,’रेखा भन्छिन् ‘तर पनि मेरुदण्डको हाडले अहिले पनि दुख दिन छोडेको छैन , चस्कीरहन्छ ।’

    रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन् । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए । उनी अहिले स्थायी समिति जस्तो माओवादीको शिर्ष तहमा छिन् । २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन् । उनि त्यो बेला माओवादीको प्रमुख सचेतक समेत बनेकी थिईन् । त्यसैबेला उनि सामान्य प्रशासन मन्त्री समेत बनिन् । 

    रेखालाई गठबन्धनको बलियो आड

    आफ्नो राजनीतिक कालखण्डको धेरै जसो समय रेखाले काठमाडौँमै बिताईन् । फलतः उनि दाङका मतदाताहरुसंगको सामिप्यतामा कमै रहिन् । फलतः अहिलेको निर्वाचन उनका लागि मतदाताहरुसंगको सामिप्यता कस्ने गतिलो आधार समेत बनेको छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी रेखाको जीतका लागि सिंगो गठबन्धन पुरापुर सकृय देखिएको छ ।फलतः गठबन्धनमा आवद्ध दल र दलका नेता प्रति मन माझ्ने उच्चतम कसरतमा गठबन्धनमा आवद्ध दलहरु छन् ।

    ‘राष्ट्रि र राष्ट्रियता जोगाउनका निम्ती गठबन्धन अपरिहार्य बनेको हो,’ कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का भन्छन् ‘यो गम्भिर मुद्धामा केन्द्रीत भएर हामी गठबन्धनमा आवद्ध दलका नेता र कार्यकर्ताहरु एक भएर चुनावमा लाग्नु पर्छ, र गठबन्धनमा आवद्ध दलको मत बाहिर जाँदैन पनि ।’ उनले कांग्रेसको मत गठबन्धन तर्फ केन्द्रीत गर्नका लागि पार्टीका हरेक ईकाईहरुलाई चुनावी अभियानमा परिचालन गरिएको समेत बताए । त्यसोत, माओवादीको एकल मतले मात्रै रेखाको जीत सहज बन्दैन । उनको जीतका लागि कांग्रेसको मत अपरिहार्य बन्छ नै । यसकारण पनि आफ्नोसंगै गठबन्धन साझेदार दल कांग्रेसको मत जोगाएर राख्ने रणनीतिमा रेखा छिन् । 


    तेस्रो आँखा