तुलसीपुर , ११ कात्तिक । रसुवा भोटेकोशी बाढीमा परी हालसम्म बेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिकाका स्थायी बासिन्दाहरूको आधिकारिक विवरण संकलन कार्य सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक अत्यन्त जरुरी सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको विवरण बुझाउन आह्वान गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय दाङको निर्णय अनुसार यो प्रक्रिया अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।
बाढीमा परी हालसम्म बेपत्ता रहेका व्यक्तिहरूका एकाघरका परिवारका सदस्यले सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित आफ्नो सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गरिसक्नुपर्नेछ।
निवेदनका साथमा बेपत्ता व्यक्तिको नागरिकता, राष्ट्रिय परिचयपत्र वा जन्मदर्ताको प्रतिलिपि, नाता प्रमाणित हुने कागजात, स्वघोषणा पत्र, निवेदकको विवरण र उपलब्ध भएसम्म बेपत्ता व्यक्तिको फोटो संलग्न गर्नुपर्नेछ।
यदि बेपत्ता भएका व्यक्तिको एकाघरको परिवारमा कोही पनि सदस्य नभएमा, सम्बन्धित वडा अध्यक्ष, वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा स्थलगत सर्जमिन मुचुल्का तयार गरी नियमानुसार प्रक्रिया अगाडि बढाइने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभएको छ।




