छठ अनुष्ठान सुरु,आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

छठ अनुष्ठान सुरु,आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य


  • 3.9K
    SHARES
    • कार्तिक १३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    छठ अनुष्ठान सुरु,आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

    प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ। शुक्रबार व्रतालुले ‘नहाय खाय’ गरी यो पर्वको विधिवत् सुरुआत भएका बर्तालुहरूले शनिबार ‘खरना’ विधि गरेका छन्। बर्तालुहरू चोख्याइएको कोठाभित्र खिर, केरालगायत परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गर्छन्। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले बर्तालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छिमेकीलाई बाँड्छन्। बर्तालुले शुक्रबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरूवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गरे। उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि मधेसलगायत मुलुकभरका नदीकिनार, खोलाछेउ, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिएको छ।

    images

    घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठपूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्। बर्तालुले नै पुजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीजस्तै वातावरण हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।

    घरभित्रै दुईदिने विधिपछि आइतबार साँझ (सँझिया घाट) र सोमबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदा सूर्यलाई प्रसादसहित दूध एवं जलको अर्घ दिन्छन्। छठ नसकुन्जेल बर्तालुले घरमा समेत दीपावली गर्छन्। छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रूपमा समेत सम्झिँदै दसैं एवं तिहारमा समेत मधेसवासीले छठको गीत गाउँछन्। बिहानको अन्तिम अर्घपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ।  

    लगातार चौथो दिनसम्म बर्तालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्। नसक्ने भएपछि वरीयता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन्। भाकलअनुरूप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ।


    तेस्रो आँखा