घोराही उपमहानगरपालिका वडा नं ६ का मतदाताहरूले आगामी मंसिर ४ गतेको निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि मत नाहाल्ने बताएका छन् ।
प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपानेसँगको भेटमा उनीहरूले एमाले नेतृत्वको गठबन्धनले संविधान, गणतन्त्र र संघीयतालाई नै खारेज गर्ने अभियानमा लागेको आरोप समेत लगाए ।
स्थानीय रामकली चौधरीले जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन लागेकाले उसलाई जनताले साथ नदिने बताईन् । ‘हामीले मुलुकमा शान्ति र समृद्धिको अपेक्षा गरेका थियौं, एमालेले जननिर्वाचित संसदनै मास्न खोज्यो,’ उनले भनिन्, ‘गठन्धनले विकाशको गति अघि बढाउने छ भन्ने हामीले विश्वास गरेका छौं ।’
अर्का स्थानीय सुविन पुनले दाङको समृद्धिका लागि गठबन्धनले दीर्घकालीन गुरु योजना बनाउनुपर्ने आवश्यकता औँल्याए । ‘गठबन्धनले निर्वाचनमा बहुमत हासिल गर्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘हिजोको परिवर्तन पनि काङ्ग्रेस र माओवादी मिलेर नै सम्भव भएको हो ।’
अर्का स्थानीय धनपति चौधरीले आफ्नो वडाबाट गठबन्धनलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले मंसिर ४ पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने ठोकुवा गरिन् । उनले प्रत्यक्षमा एमालेका उम्मेदवारले पाँच÷सात सिट भन्दा बढी ठाउँमा जित हासिल गर्न नसक्ने दावी गरिन् ।
प्रदेशसभा दाङ २ (२) का उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने ले दाङका ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्ने बताए ।
