कर्णाली, २४ कात्तिक (रासस) ः पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्ने गरिन्छ । सम्भवतः त्यो संयोग गोमा र कुन्तीको परिवारमा जुरेको हुन सक्छ ।
अहिले ती दुवै पात्रले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । चुनावको दिन मङ्सिर ४ गते आउन अब १० दिनमात्र बाँकी छ । गोमा गौतम (कुँवर) प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) जुम्लाको महिला प्रत्यक्षतर्फको उम्मेदवार हुन् भने कुन्तीकुमारी शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दैलेख क्षेत्र नं १ को प्रत्यक्षतर्फको उम्मेदवार हुन् ।
कर्णालीमा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र छन् । त्यसमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । विगतदेखिको विरासत बोकेका पार्टीमध्ये कर्णालीमा माओवादी र राप्रपाले बढी न्याय गरेको छ । नेपाली कांगे्रस र नेकपा (एमाले)का महिला नेत्रीहरुले भने टिकट पाउन सकेका छैनन् ।
संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता राज्यका सबै निकाय हुनुपर्ने व्यवस्था भएपनि ठूला पार्टीबाट कर्णालीमा गौतम र शाही मात्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा मुस्किलले अटाउन सके । वर्गका हिसाबले महिला भए पनि दुवैको राजनीतिक र धार्मिक आस्था एकआपसमा ठीक विपरीत छ । उनिहरु दुवै राजीतिकरुपले पनि प्रतिस्पर्धी मानिन्छन् ।
गोमा कम्युनिष्ट विचारधारमा विश्वास गर्छिन् भने कुन्ती हिन्दूवादी सनातन धर्ममा । मालेवादलाई अँगाल्नुभएका गौतम र राजसंस्थालाई आस्थाको धरोहर ठान्दै आउनुभएका शाही फरक पार्टीका पुरुष उम्मेदवारसँग भिडन्त गर्दै छिन् । जहाँ दुवैका लागि चुनावमा बिजयी हुनु त्यति सजिलो छैन । सिङ्गो कर्णालीका निम्ति महिला नेतृत्वमा आउने कुरामा अन्याय गरे पनि आफूहरुको सवालमा न्याय दिलाइएको दुबैको भनाइ छ ।
जुम्लाका गौतम प्रतिनिधिसभा सदस्यका उम्मेदवारद्वय एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्लेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । श्रमजीवि र महिला वर्गको मुक्ति आन्दोलन गर्दै हाल माओवादीका केन्द्रीय सदस्य रहेकी गोमा जुम्लाका माओवादी र अहिलेको गठबन्धनको साझा उम्मेदवारका हिसाबले बलियो नै देखिन्छन् ।
स्थानीय तहको निर्वाचन, २०७९ को मतपरिणामलाई नियाल्दा जुम्लामा कांग्रेसको १६ हजार ७५ मतसङ्ख्या छ भने नेकपा (माओवादी केन्द्र)को १४ हजार एक सय ७५ छ । एमालेको छ हजार नौ सय ६२, नेकपा (एकीकृत समाजवादी)को छ हजार एक सय ९५ र राप्रपाको पाँच सय १४ मत छ ।
पछिल्लो समयमा समाजवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गठबन्धन दलभित्रका दुई दल कांगे्रस र माओवादीको मत जोड्दा मात्र ३० हजार छ ।
