रुकुम (पूर्व), २८ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्रै बाँकी छँदा यहाँका उम्मेदवारहरुले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् । मनोनय दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यतिबेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छन् ।
रुकुम(पूर्व) मा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । यी तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले निर्वाचनमा रौनकता थपेको छ ।
पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर उम्मेदवार छन् । तर उनको विरुद्धमा माओवादी केन्द्रका चन्द्रराज झाँक्री बागी उम्मेदवार छन् । यस क्षेत्रमा नेकपा (एमाले)का कैलाशकुमार मल्ल उम्मेदवार छन् । मल्ल यसअघि माओवादी केन्द्रमा थिए । उनी गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए । तीन जना उम्मेदवार नै विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले मत कस्ले बढी तान्छ भन्नेमा बहसको विषय बनेको छ ।
रुकुम(पूर्व) मा विगतका निर्वाचनको मतपरिणाम हेर्दा माओवादी केन्द्र हावी देखिन्छ । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गत निर्वाचनमा प्रदेशसभा २ बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसकेका छन् ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेद्वार छन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । तर यसपटकको निर्वाचनमा उनी विरुद्ध सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरिसकेको छ ।
प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेद्वार छन् । तर सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध माओवादी केन्द्रका केशव रावलले बागी उम्मेदवार दिएका छन् । रावल माओवादी केन्द्र विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरुसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट भावना बुढाथोकी उम्मेदवार छन् ।
माओवादी र कांग्रेसबीचमा चुनावका लागि गठबन्धन भए पनि पार्टीभित्रको असन्तुष्टिको फाइदा एमाले उम्मेदवारलाई हुनसक्ने मतदाताबीच आँकलन गरिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा तीन वटै पालिका प्रमुख र दुई वटा गाउँपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने एमाले–कांग्रेस गठबन्धनबाट एमाले उम्मेदवारले एउटा पालिका उपप्रमुख जितेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा ३१ वडामध्ये नेकपा माओवादी केन्द्रले २२ वटा, नेपाली कांग्रेसले तीन र नेकपा एमालेले ६ वटा वडामा जित हासिल गरेका थिए ।
