गीता आचार्य
भनिन्छ सपना देख्नु राम्रो हो । सपनै नदेखि केही गर्न सकिन्न।हुन पनि हरेक मानिसका आफ्नै खाले सपना हुन्छन् ।कसैले धेरै ठूलो सपना देख्छ त कसैले सानै।कसैले पूरा गर्न सकिने खालको सपना देख्छ त कसैले चाहिने भन्दा ठूलो। सपनालाई सानो ठूलो भन्दा पनि सपना सपना हो जसले जुन सपना देख्छ उस्को लागि त्यहिँ सपना ठूलो।
सपना देख्नु भविश्यको मौन योजना हो।जसले जीवनलाई अनुशासीत र ब्यबस्थित गर्दै अगाडि बढ्न मद्दत गर्दछ।जसले जीवनलाई भविष्य प्रति सजग र सचेत रहन सधैं प्रेरित पनि गर्दछ। सपना देख्नेहरू सबैको सपना पूरा हुन्छ भन्ने पनि छैन ।सपना देख्दै नदेख्नेहरूले केही गरेनन् भन्न पनि त सकिन्न !कतिपय सपनाहरू देखेरै नदेखिएका हुन्छन्।कतिपय सपनाहरू ओझेलमै पारिएका हुन्छन्।कतिपय सपनाहरू ओझेलबाटै विलाएका हुन्छन्।कतिपय सपनाहरू निसास्सिदै मारिएका हुन्छन्। यो त भयो लक्ष्य प्राप्तिको सपना.....!
कुरा अर्को सपनाको पनि त छ! जब गहिरो निद्रामा पुगिन्छ अनि देखिने सपना। सपनाका पनि कति धेरै प्रकार । दिनमा देखिने सपना।समसाँझैं देखिने सपना।मध्य रातमा देखिने सपना । मध्यरात कटिसके पछि देखिने सपना । बिहान पखको सपना ।उज्यालो भैसके पछिको सपना। सपना देख्नेले देखेर पनि सुख छैन। यति बजेको सपना यस्तो ।अनि उति बजेको सपना उस्तो ।आहा! कति राम्रो सपना । ओहो! कति नराम्रो सपना। यो सपनाका विश्लेषक पनि अनेक थरी ।
झण्डै झण्डै हाम्रो नेता जस्तै । जे पनि बोलिदिने। राम्रो सपना देख्दा त दिन भरी ठीकै हो नराम्रो सपना देख्दा मन आफैं तर्सिने । कुनै संकटको बेला होस् अझ रिजल्टको अघि पछि होस् मन आफैबाट दिन भर विचलित भैदिने। हुन पनि रातमा देखिने सपनाले भोलिको दिनलाई कता कता मनोवैज्ञानिक असर पारेको हुन्छ। जति नै सुकै मै हुँ भन्नेहरूले पनि विश्वास गर्दैन भन्नेहरूलाई पनि यसको असरले छोडेको हुन्न।
हुन पनि कति रमाईलो रमाईलो सपना देखिन्छ।कल्पना भन्दा बेग्लैको संसारमा पुगिन्छ ।कति मीठो लाग्दा लाग्दै झल्यास्स ब्युझिदा मनमा फरक खाले तरंग पैदा गराउँछ।फेरि पनि निदाउन मन लाग्छ।त्यहीँबाट सपनालाई जोड्न मन लाग्छ ।ब्यूँझिएकोमा पछुतो लाग्छ।फेरि निदाएजस्तो गरिन्छ तर मरिकाटे निदाउन सकिन्न ।यदि निदाईहाले पनि सपनालाई जोड्न सकिन्न। किनकि सपना सपना हो। न त यो कुनै कहानी हो ।
नत यो चलचित्र नै हो।जसलाई न त दोहोराएर हेर्न सकिन्छ ।न त कुनै स्क्रिनले समेट्छ। सपनाको सुन्दरता न विपनाले दिन्छ न त स्क्रिनले ।बरू ब्युझिनुमा पछुतो लाग्छ।विपनाको खल्लो अनुभूति हुन्छ।दिन भरी मन रोमाञ्चित बन्छ। दिनमा तिनै दृष्यहरू नाँच्छन्।आँखा अघि तिनै तस्वीरहरू झल्झली नाँच्छन् ।आहा कति मीठो! हुन पनि सबै मानिसका सपना जति कहाँ रमाईलो हुन्छ र विपना......! म ठूलै हुँदासम्म सपना र कथा छुट्याउन सक्दैन थे रे।
बिहान उठ्ने बित्तिकै मलाई आज के कथा देखिस् भनेर जिस्काउनु हुन्थ्यो ।मैले पनि यो कथा देखें भन्थे बुवा आमासँग।कथा त्यति लामो पनि देखिन कुनै दिन। अझै पनि कान्छि बहिनी भएर पनि होला कथा देखिस् भनेर जिस्काउने गर्दछन् दिदीहरूले। अहिले मलाई लाग्छ सायदै मैले सानोमा सपना नदेखेरै होला ।अहिलेसम्म कथा मात्रै देखिरहेको छु।हरेक दिन मेरा लागि कथा बनेका छन्। कति कथाहरूको पात्र मै हुन्छु ।कहिले हुन्न फरक यत्ति हो।मैले हरेक सपनालाई कथा बनाउनै छ।जीवन भोगाईलाई सधैं रूपान्तरण गर्नु नैछ। कथा बन्नु ।जीवन जीउनु ।
जीवनलाई कथा वनाउनु कथालाई जीवन्त पार्नु पनि त सपना होईन र! कथै कथालाई मैले जीवनको आदर्श ठानेको छु।जब मानिस सपना नदेखि झल्यास्स ब्युझिन्छ ।त्यतिन्जेल उसको सब थोक बिग्रेको हुन्छ।जब सब थोक बिग्रन्छ अनि त्यहाँ कथाका थरी थरी पात्रहरू ब्युझिन्छन्। सहानुभूतिका पात्रहरू पनि जन्मिन्छन् अझ बढि पात्र त सहानुभूतिकै हुन्छन्। एकातिर राम राम गर्नेहरू झन् धेरै हुन्छन्।
बलेको आगो ताप्नेहरू पनि बिच्किन्छन्। छोईसक्नु हुन्न कसैलाई। बोलीसक्नु हुन्न कतै । जहातहिँ कथै कथा जहातहिँ पात्रै पात्र। पैसाको उन्माद। जहाँ तहीँ घाऊ। जहाँ जाऊ अपमान । जहाँ जाऊ चोटै चोट। राजधानीमा मानिस केही गर्छु भनेरै पसेका हुन्छन्।नयाँ नयाँ सपना बुनेर छिरेका हुन्छन्।मेरो त त्यति ठूलो सपना पनि रहेनछ र त फगत यहाँसम्म आईपुगेछु! जीवनका हरेक उतार चढाबलाई स्वीकार्नु मेरो जिन्दगी हो। हरेक परिस्थिति लाई स्वीकार्नु मेरो बाध्यता हो।जे सक्छु त्यहीँ गरिरहन्छु।खाली समय मसँग हुन्न पनि।
समयसँगै कसरी सँगसँगै हिड्नु पर्छ मैले जानेको पनि छु।समय के हो बुझेको पनि छु। समयको सदुपयोग कसरी गर्नु पर्छ त्यो पनि थाहा छ। बिना बोझको दैनिकी हुन्छ मेरो। मैले सबै काम रमाएर गर्छु। कुनै काम गर्दा दिक्क मानेर गर्दिन। यति हुँदाहुँदै पनि जीवनलाई कहिलेकाहीँ बुझाउन निक्कै गाह्रो हुन्छ यिनै गाह्रो परिवेशले कथा बुन्ने गर्छु।सपना नदेखेर त होला मलाई भाग्यले कथा बुन्न सिकायो। राजधानीमा छिर्नु मेरो सपना भन्दा पनि कथा रह्यो ।
जिवनका हरेक उतारचढावलाई स्वीकार्नु मेरो जीवन हो।यसैलाई मैले मेरो आदर्श ठाने र मैले जे सक्छु त्यहीँ गरिराखेको छु।तर ति कामहरूले पैसा नदिएपनि आत्मासन्तुष्टि चाहिँ धेरै दिन्छ।यहीँ आत्मसन्तुष्टी नै मेरो जीवन जिउने कला सम्झिन्छु। यही कलालाई मैले मेरो ज्यूने आधार बनाए।जुन आधारले मलाई बचाईराखेकोछ।टिकाई राखेको छ ।सपना र कथाको अर्थ सिकाई राखेकोछ ।सपना नदेख्नु कथा देख्नुको अर्थ बारम्बार झस्काई रहेछ। यस्तै यस्तै ......! -
