काठमाडौं, ६ जेठ । भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे ।
फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।
फिनालेमा सबै आठ जना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए ।
फिनालेमा सुरजसिंह ठकुरीले हिमालय रोडिजको नयाँ सिजन आउन लागेको जानकारी गराएका थिए ।
