स्वीमिङ गर्नका लागि सहरी क्षेत्रमा जताजतै स्वीमिङ पुल (पौडी पोखरी) देख्न सकिन्छ । स्वीमिङ पुलमा बच्चादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । किनकि अहिले स्वीमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको हुन्छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्वीमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ ।
हिजोआज स्कुलका साना नानीहरुलाई पनि स्वीमिङ लैजाने चलन छ । स्वीमिङले मनोरञ्जन प्रदान गर्ने मात्र नभई शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ । गर्मी बढेसँगै स्वीमिङ पुलमा मानिसहरुको चाप बढेको छ ।
स्वीमिङका फाइदा
पौडी खेल्दा शरीरको सम्पूर्ण भागको व्यायाम हुन्छ । पौडी खेल्दा शरीरका सबै अंग चलायमान हुने भएकाले शरीर स्वस्थ र फूर्तिलो राख्न मद्दत पुग्ने गर्दछ । साथै पौडी खेल्दा मनोरञ्जन पनि प्राप्त हुन्छ ।
स्वीमिङले शरीरको हड्डी मजबुत बनाउन, मांसपेशी कसिलो बनाउन, शरीर फिट राख्न सहयोग गर्छ । विभिन्न अध्ययनअनुसार स्वीमिङले बोन मिनरल डेन्सिटी (बीएमडी) र फेमोरल बोन दुवैलाई नियन्त्रण गने र यसो हुँदा हड्डीको वृद्धिमा सहयोग पुग्ने गर्छ ।
स्वीमिङ पुलको सुविधाअनुसार मूल्य तलमाथि हुन सक्छ । सामान्यतया ३०० रुपैयाँभन्दा बढी स्वीमिङ शुल्क लाग्छ । पाँचतारे होटल र रिसोर्टहरुमा रहेका स्वीमिङ पुलमा भने अलि बढी शुल्क पर्न सक्छ ।
स्वीमिङ गर्दा स्वीमिङ कस्ट्युम अनिवार्य हुन्छ । कुनै स्वीमिङ पुलमा केही रकम तिरेर त्यही कस्ट्युम व्यवस्था पनि गरिएको हुन्छ, तर सकेसम्म आफ्नै स्वीमिङ कस्ट्युम लिएर जाँदा राम्रो हुन्छ ।
