तुलसीपुर १६ जेठ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुईसय बेडमा अस्पताल बनाउने प्रक्रियामा आफूहरू लागेको बताए । मंगलबार १६ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूले फलफूल वितरण कार्यक्रममा बोल्दै उनले दाङलाई मात्र नभई लुम्बिनी प्रदेशलाई नै कसरी राम्रो बनाउने भन्ने बारेमा आफूहरूकै सोच रहेको पनि बताए ।
उनले प्रदेशका दुई वटा प्रादेशिक अस्पतालहरू रहेको भन्दै यि अस्पतालहरू अरु अस्पतालहरूको स्रोत केन्द्र रहेको समेत बताए । उनले भने,‘ एउटा तुलसीपुरमा रहेको छ, भने अर्को बुटवलमा प्रादेशिक अस्पताल रहेको छ । रणनीतिक हिसाबले भन्नु पर्दा यि अस्पतालतिरै स्रोत केन्द्रहरू हुन् । त्यसैले प्रादेशिक अस्पताललाई दुई सय बेडको सञ्चालन गर्नको लागि हामी तयार छौँ । यसको सबै प्रक्रिया पु¥याएर आउने क्याबिनेटमा पेश गर्न सचिव ज्यूलाई निर्देशन पनि दिन्छु ।’
उनले राप्ती प्रादेशिक अस्पताल दाङका मात्र नभइ कर्णाली प्रदेशको बिरामीहरू पनि यहाँ उपचार गर्न आउने भएकाले यसलाई अझ राम्रो बनाउन सबैको ध्यान केन्द्रित हुनु पर्ने समेत धारणा व्यक्त गरे । यस्तै उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अरबको टेन्डर प्रक्रिया अगाडि बढेको छ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई पनि सुविधा सम्पन्न बनाउनको लागि के के कुराहरूको आवश्यक पर्छ, त्यो सबै गर्न आफूहरू तयार रहेको समेत उनका भनाइ छ ।
उनले भने,‘ हामी अस्पताललाई सुविधा सम्पन्न बनाउनको लागि तयार रहेका छौँ । तर, अस्पताल व्यवस्थापन समितिले पनि केही कुराहरूको ख्याल गर्नु पर्छ । मितव्ययितालाई पनि ख्याल गर्नुपर्छ । हामीलाई आवश्यक जनशक्ति राख्नु पर्छ । तर, यहाँ विशिष्ट श्रेणीका डाक्टरहरूलाई कसरी ल्याउने भन्ने कुरामा हामीले पनि सोचेका छौँ । तर, अनावश्यक खर्चहरू कटौती गर्दै लैजानु पर्छ । ’ यस्तै उनले यस अस्पताललाई सबै कुरामा सुविधा सम्पन्न गरेर यहाँका बिरामीहरू उपचार गर्न नेपालगन्ज , भारतको लखनउ सम्म जाने गरेको भन्दै त्यो विस्तारै बन्द हुनेमा आफूले विश्वास लिएको समेत उल्लेख गरे । उनले अबको दुई वर्षभित्रमा यस अस्पतालमा विशिष्ट श्रेणीका डाक्टरहरू ल्याएर थप सेवा अगाडि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले राप्ती प्रादेशिक अस्पतालको अवस्था प्रतिहरू परिचित रहेको भन्दै गम्भिर रहेका पनि भएको बताए ।
उनले जनताको नैसर्गिक अधिकार भित्र पर्ने स्वास्थ्य सेवालाई सामान्य भन्दा सामान्य नागरिकहरूको पहुँचमा पु¥याउनको लागि प्रदेशका सबै अस्पतालहरूलाई व्यवस्थापन गर्ने समेत बताए । उनले भने,‘ तुलसीपुरमा रहेको प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर दुई सय बेडको सञ्चालन गर्नु पर्ने छ । यसको यहाँ आवश्यकता पनि रहेका छ । त्यसैले हामीले त्यस आवश्यकता बोध हामीले गरेका छौँ । यसको लागि प्रदेश सरकार गम्भिर भएको छ । ’
यस्तै कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफूलाई राप्ती प्रादेशिक अस्पतालाई छिट्टो भन्दा छिट्टो दुई सय बेडको लागि प्रक्रिया अगाडि बढाउन निर्देशन भएको समेत बताए । उनले यसका लागि मन्त्रालयबाट काम अगाडि बढाएको समेत बताए । जिल्लाबाट प्रदेशमा मुख्यमन्त्रीसहित ३ जना मन्त्री र प्रदेशको योजना आयोगको उपाध्यक्ष पनि यहीबाट भएको हुँदा यहाँका नागरिकहरूको अपेक्षा स्वास्थ्य क्षेत्र र अन्य विकासका क्षेत्रमा रहेको बताए । उनले यसका बारेमा आफूहरू अत्यन्त चिन्तित भएको भन्दै मुख्यमन्त्रीबाट पनि बेला बेलामा कडा निर्देशन भइरहेको समेत बताए ।
उनले भने,‘ मुख्यमन्त्री ज्यूले पनि हामीलाई बेला बेला यहाँको मात्र नभइ प्रदेशको विकासका लागि निर्देशन दिनु भएको छ । हामीहरूको पालामा यस क्षेत्रको लागि मात्र नभइ प्रदेशका केही उदाहरणीय काम गरेर देखाउ भन्ने हामीलाई निर्देशन रहेको छ ।’
