सिसहनियाँ, २४ जेठ । दाङको राप्ती गाउँपालिकाको सबै वडामा भोलिदेखि दादुरा रूवेला विरूद्वको खोप लगाउने अभियान सञ्चालन हुँदैछ ।
खोप सञ्चालनका लागि राप्ती गाउँपालिका स्वास्थ्य शाखाले ९ वटै वडामा वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरूबीच अभिमुखीकरण तथा समन्वय बैठक समेत सम्पन्न गरेको छ ।
जन्मेको ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई राप्ती गाउँपालिकाको ४८ वटा खोप केन्द्रबाट भोलि देखि जेठ ३० गतेसम्म दादुरा रुवेला खोप लगाउने कार्यक्रम रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । करिव १३ हजार ८ सय ४० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
अहिले देशका विभिन्न जिल्लाहरुमा जस्तै दाङ जिल्लामा पनि दादुरा महामारी देखिएको छ। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो रोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनीकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको शाखा प्रमुख रावतले जानकारी दिएका छन् ।
खोप सञ्चालन हुने केन्द्रमा आफुलाई पायक पर्ने केन्द्रमा लगेर आफ्ना बालबच्चालाई नछुटाएर खोप लगाउन स्वास्थ्य शाखा प्रमुख राउतले सवैमा आग्रह गरेका छन् ।
