काठमाडौं २५ जेठ /
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ । नगरपालिकाको वडा(९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो । नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्यायका अनुसार पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि भएको छ ।
‘सबै संक्रमित बालबालिकाको अवस्था सामान्य छ । उक्त विद्यालयका १५–१६ जना बालबालिकामा लक्षण देखिएको छ’ उपाध्यायले भने, ‘लक्षण देखिएका बालबालिकालाई आइशोलेसन गरेर राखेका छौं।’
होस्टेलसहितको विद्यालयमा कर्मचारी र विद्यार्थी गरी ५६० जना छन् । संक्रमण पुष्टि भएका बालबालिका १५ बर्ष मुनिका छन्। कसरी दादुराको संक्रमण फैलियो भन्ने बिषयमा अनुसन्धान भइरहेको उपाध्यायले बताए ।
‘बौद्ध विद्यालयमा विभिन्न जिल्लाबाट आएका बालबालिका छन्। दादुरा विरुद्धको खोप लगाएका छन् कि छैइनन् भनेर खोजी गरिरहेका छौं। उहाँहरुको अभिभावक काठमाडौंमा हुनुहुन्न। टोलिफोन सम्पर्क गरी सोधिखोजी गरिरहेका छौं’ उपाध्यायले भने, ‘थप संक्रमणलाई फैलिन नदिनका लागि तुरुन्तै खोप लगाउने तयारीमा जुटेका छौं।’
स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाहरूले ९ र १५ महिनाको उमेरमा दुई पटक बालबालिकालाई निःशुल्क दादुराविरुद्धको खोप दिंदै आएका छन् ।
सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ। तर, हरेक वर्ष देशका विभिन्न भागमा दादुरा आउटब्रेक भएकाले उक्त लक्ष्यमा पुग्न चुनौती थपिएको छ। गत माघमा बाँकेमा दादुरा महमारीमाको रुपमा फैलिएको थियो।
नेपालगञ्जबाट सुरु भएको दादुरा खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका हुँदै जिल्लाको पश्चिममा रहेको नरैनापुर गाउँपालिकासम्म फैलिएको थियो ।
त्यस्तै, २०७६ चैतमा धादिङमा दादुरा(रुबेलाबाट दुई बालकको मृत्यु भएको थियो भने १५० जनाभन्दा बढी संक्रमित भएका थिए।
नेपालमा दादुराको खोप अभियान सन् २००४ सालदेखि सुरु भएको हो। धेरै मानिसमा पहिलो डोजको प्रयोग भइपछि दोस्रो डोजबारे कम जानकारी हुनुले वा दोस्रो डोजको कभरेज कम हुनुले निवारणमा थप चुनौती आइपरेको विज्ञहरूको भनाइ छ।
राष्ट्रिय तथा स्थानीय तहमा दादुरा प्रकोप तथा त्यसबाट हुने मृत्युको रोकथामका लागि ‘एमसीभी १’ र ‘एमसीभी २’ नामक खोप देशको कुल जनसंख्याको ९५ प्रतिशतलाई लगाउनु पर्दछ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६(७७ मा दादुरा-रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ७०।७ प्रतिशत छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७-७८ उक्त दर ८०.९ प्रतिशतमा पुग्यो। आर्थिक वर्ष २०७८/७९ मा यो कभरेज दर ९२। ८ प्रतिशत पुग्यो। पछिल्ला केही वर्षमा दादुराको खोप लगाउने संख्यामा वृद्धि भएतापनि पूर्ण रुपमा अझै बालबालिकाले खोप पाएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०२२ को पछिल्लो प्रतिवेदनले नियमित खोप ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाएका छन्।
यस्तै, दादुरा, रुबेलाको दोस्रो मात्रा आर्थिक बर्ष २०७७- ०७८ मा ४ लाख ८२ हजार, आर्थिक बर्ष २०७८/०७९ मा ४ लाख ८० हजार र आर्थिक बर्ष २०७९/ ०८० फागुनसम्म ३ लाख ६२ हजार बालबालिकामात्रै खोप पाएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार दादुराविरुद्धको खोप नलगाएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएका मानिसमा फैलिएर प्रकोपको रूप लिन्छ।
देशका विभिन्न भागमा दादुराको नियमित प्रकोप बढ्नुमा खोपको न्यून कभरेज, बढ्दो जनसंख्या, नागरिकमा अझै खोप महत्वको जनचेतनाको अभाव र सम्बन्धित सरकारी निकायको उदासीनता रहेको विज्ञहरु बताउँछन् ।
