काठमाडौं २८ जेठ । पूर्वप्रशासक र पूर्व सुरक्षा अधिकारीले गृह प्रशासनकै उच्च अधिकारी नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु गम्भीर विषय भएको बताएका छन् ।
आइतबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले ‘राष्ट्रिय सुरक्षासम्बन्धी नीति, कानुन, संस्थागत संरचना, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका सवाल, समस्या, चुनौती र भावी योजना’ बारे छलफल राखेको थियो ।
छलफलमा सुरक्षा विज्ञको रुपमा पूर्वसचिवत्रय खेमराज रेग्मी, वामनप्रसाद न्यौपाने र आत्मराम पाण्डे उपस्थित थिए । सुरक्षा मामिला विज्ञका रुपमा केशरबहादुर भण्डारी र राजेन्द्रबहादुर सिंह लगायत थिए ।
रक्षा मन्त्रालयका पूर्वसचिव खेमराज रेग्मीले गृहमन्त्रालय र रक्षा मन्त्रालयमा पुग्ने कर्मचारी र राजनीतिक व्यक्तिमा मुलुकको सुरक्षा नीति भर पर्ने बताए । गृहमन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वमा खराब व्यक्तिहरु पुगेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरणका लागि वातावरण बनेको उनको भनाइ छ ।
सन्तानको सुरक्षाको मुख्य जिम्मेवारी आमा÷बुबाको हुने भन्दै रेग्मीले भने, ‘गृहमन्त्री र गृहसचिव नै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न हुनु अभिभावकले आफ्नै सन्तान बेच्नुसरह हो ।’
