तुलसीपुर ३१ जेठ /
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास र प्रवर्द्धनका लागि जोड दिएका छन् । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दिक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालय बीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको स्पष्ट पारे।
‘विश्वविद्यालयको अध्ययनरअध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको छ,’ उनले भनेका थिए, ‘ नेपालकै दोस्रो ठूलो विश्वविद्यालय स्थापनाको उद्धेश्य अरूभन्दा फरक छ।’ संस्कृत भाषा प्राचीन भाषा मात्र नभई पाश्चात्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार रहेको दाहालले बताए ।
विश्वविद्यालयका कार्य योजनालाई सघाउन सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री दाहालले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउन शिक्षा आवश्यक रहेको चर्चा गरेका थिए । साथै उनले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । १२ वर्षपछि भएको दीक्षान्त समारोहमा शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित भएका छन् । भने समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिएको थियो ।
