गैंडाकोट, ८ असार । गैंडाकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरको शुक्रवार सम्पन्न १३ औं नगरसभामा नगर प्रमुख मदनभक्त अधिकारीले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जसलाई १३ औं नगर सभाले सर्वसम्मत पारित गरेको थियो ।
नगरप्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा भौतिक विकाश तर्फ नगरको शहरीकरणलाई व्यवस्थित गर्दै जोखिम न्यूनिकरण गर्ने, नगरपालिका भित्र रहेका कच्ची सडकलाई क्रमश : कालोपत्रे गर्दै राष्ट्रिय सडक सञ्जालसँग जोडिने, मुख्य राजमार्ग बाहेक भित्री सडकहरु यथासक्य ६ मिटर कायम गरी ढल तथा ढल निकास र खानेपानीसमेतको एकै साथ ब्यबस्थापन मिलाई स्तरउन्नती गर्ने, आगामी आर्थिक वर्षमा कम्तिमा तीनवटा वडा कार्यलयको भवन निर्माण गरिने, नगरपालिकाभित्रका पूर्वाधारहरुमा बाटो र ढल नियन्त्रणको लागि नाला, ढल निकास, इन्टरनेट, स्वास्थ्य, पार्किङ, बसपार्क जस्ता सुविधाहरुको विस्तारमा प्राथमिकता दिने लगायतका कार्यक्रमहरु रहेकाछन् ।
नीति तथा कार्यक्रममा 'उज्यालो सडक कार्यक्रम' अन्तरगत अस्पताल, विद्यालय धार्मिकस्थल सडक र पर्यटकीय स्थल आदिमा विद्युतीय बत्ती जडान गर्ने जस्ता दर्जनौं कार्यक्रमहरू उल्लेख छन ।
आगामी आर्थिक वर्षका लागि नगरले सञ्चार तथा सूचना प्रविधि क्षेत्र, सामाजिक विकास सम्बन्धी नीति अन्तरगत स्वास्थ्य क्षेत्र, बहुउद्देश्यीय पोषण क्षेत्र, महिला बालबालिका तथा जेष्ठनागरिक क्षेत्र, सुरक्षा तथा युवा क्षेत्र र खेलकुद क्षेत्रमा पनि दर्जनौं कार्यक्रमहरू प्रस्तुत गरिएको छ । त्यसैगरी आर्थिक विकास सम्बन्धी नीतिहरू, कृषि विकास नीति तथा कार्यक्रम, वन वातावरण तथा विपत व्यवस्थापन सम्बन्धी नीतिहरू, सुशासन तथा संस्थागत विकास सम्बन्धी नीतिहरू र राजश्व तथा श्रोत परिचालन सम्बन्धी नीतिहरू अन्तर्गत पनि दर्जनौं शिर्षकहरुमा सैयौ कार्यक्रमहरूको घोषणा गरको छ ।
नगरप्रमुख मदनभक्त आधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि चर्चा गर्दै नगरका ६ जना वडा सदस्यहरुले सुझाव दिनुभएको थियो ।
जसमा वडा नं ५ का वडा सदस्य द्रोण वन सन्यासी, वडा नं १७ का वडासदस्य डिल्लीराम, वडा नम्बर १३ का वडा सदस्य ऋषिराम गौतम, वडा नं. २ की वडा सदस्य सीता श्रेण्ठ, वडा नं ७ का वडा सदस्य धनबहादुर कुमाल र वडा नम्बर १६ का वडा सदस्य दिनेश देवकोटा रहनु भएको थियो ।
वडा सदस्यहरुको गुनासो तथा सुझावको संकलन गरि नगर प्रमुख अधिकारीले जवाफ दिनु भएको थियो । नगर सभामा प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजाल र उपप्रमुख शान्ति कोइराला सहित सवै वडाध्यक्षहरूको सहभागिता थियो ।
भूमिलाल पौडेल
