गैंडाकोट, २३ असार । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा गैंडाकोटमा कविता वाचन कार्यक्रम गरिएको छ । श्री धार्मिक सेवा समिती मौलाकालिका मन्दिरद्वारा संचालित मौलाकालिका आध्यात्मिक पुस्तकालय गैंडाकोट १ ले आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आदीकवि भानुभक्त, प्रवृत्ति र प्रभावका बिषयमा आम मानिसलाई जानकारी हुनुपर्नेमा जोड दिदै साहित्य नगरको गहनाका रुपमा रहेकाले साहित्यलाई प्रज्ञाप्रतिष्ठान मार्फत उजागर गर्दै नगर अघि बढने बताए । कार्यक्रममा नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोबिन्दराज बिनोदी विशेष अतिथी रहेका थिए ।
साहित्यकारहरु डि.आर पोख्रेल, केदारनाथ खनाल, प्रा.डा. नारायणप्रसाद खनाल, सिद्ध कुमार श्रेष्ठ, हरिप्रसाद सापकोटा, काशीनाथ कंडेल, बिष्णु पन्थी, श्यामसुन्दर पराजुली लगाएत ३ दर्जन बढी साहित्यकारहरुले कार्यक्रमका विषयमा मन्तव्य र भानुसँग सम्बन्धित कबिताहरु प्रस्तुत गरेका थिए । कार्यक्रम श्री धार्मिक सेवा समिती मौलाकालिका मन्दिर तथा मौलाकालिका आध्यात्मिक पुस्तकालयका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

