तेस्राे आँखा डेस्क
काठमाडौ, ७ पुस । सरकारी स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना पुन संचालनमा ल्याउने तयारी थालेको छ। लामो समयदेखि बन्द रहेको चुरोट कारखाना पुनः संचालनका लागि उद्योग मन्त्रालयले आवश्यक तयारी थालेको छ।
द्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले अर्थमन्त्रालयसँग चुरोट कारखाना संचालनका लागि छलफल भइरहेको बताएका छन्। उनले यस विषयमा छलफल गर्न उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा अर्थमन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव रमेश केसी सदस्य र उपसचिव गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको जानकारी दिए।
‘सुर्तिजन्य कारखाना नचलाउने सरकारी नीति अनुसार कारखान बन्द भएको थियो’ ज्ञवालीले तेस्रोआँखासँग भने, ‘उद्योग पुनः संचालन गर्ने विषयमा अध्ययन गरेर अर्थमन्त्रालयमा प्रतिवेदन पेश भएको छ।’
पुनः संचालन भए पनि सरकारले उक्त कारखाना नचलाउने उनको भनाइ छ। उनले निजी क्षेत्रलाई भाडामा दिएर चलाउन लगाउने अथवा कारखाना खारेज गर्ने भन्ने विषयमा छलफल अघि बढेको बताए।
‘सरकारले चल्न सक्दैन, घाटामा गयो भनेर बन्द गरेको होइन्।’ उनले भने, ‘उद्योग बन्द हुँदा सरकारलाई समग्र घाटा भयो होला। तर, सरकारी नीति भन्दा बाहिर गएर चलाउने कुरा पनि भएन। अहिले पनि निजी क्षेत्रलाई चलाउन दिने कि बन्द नै गर्ने भन्ने विषयमा अध्ययन हुन थालेको हो।’
जनकपुर चुरोट कारखानाबाट सुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो। देउराली, याक र गैँडा नामको उत्पादन बजारमा थियो। यस कारखानामा सुरूमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए।
‘जनकपुर कारखानाको ३३ विघा जग्गा छ’ ज्ञवालीले भने, ‘अहिले २५ विगाह जग्गामा प्रदेश नं. २ सरकार बसेको छ। बाँकी ८ विगाह जग्गामा कम्पनीको भौतिक संरचना रहेको छ।’
सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्री रामनारायण मिश्रको प्रयासबाट २०१७ सालमा जनकपुर चुरोट कारखाना लिमिटेड स्थापना गरिएको थियो। २०२१ साल पुस २९ गते तत्कालीन राजा महेन्द्रले यसको उद्घाटन गरेका थिए।
