• ट्रेण्डिङ्ग :
दाङमा डेंगी नियन्त्रणको लागि पहल गर्न राष्ट्रियसभा सदस्य देवकोटाको माग

दाङमा डेंगी नियन्त्रणको लागि पहल गर्न राष्ट्रियसभा सदस्य देवकोटाको माग


  • 2.7K
    SHARES
    • आषाढ २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    दाङमा डेंगी नियन्त्रणको लागि पहल गर्न राष्ट्रियसभा सदस्य देवकोटाको माग

    काठमाडौं २८ असार /
    राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङलाई डेंगी प्रभावित जिल्लाका रूपमा सूचीकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

    images

    “दाङ जिल्लामा डेंगी रोग छ । दाङ जिल्लालाई डेंगी प्रभावित जिल्लाको रूपमा सूचीकृत गरी डेंगी नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरू समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु,” उनले भनिन् ।

    त्यसैगरी राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरू बन्द र विद्यार्थीहरू बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रियसभा सदस्य कुमार दसौदीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरे । उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि सरकारले मूल्य नघटाएको बताए ।

    राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले स्थानीय तहका विकास निर्माणलगायत काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले समस्या समाधान गर्न सरकारलाई अनुरोध गरे ।

    “अन्नपूर्ण संरक्षण आयोजना एक्यापले स्थानीय तहका विकास निर्माणलगायत काममा व्यवधान सिर्जना गरेको भन्ने व्यापक गुनासो छ । यस्तै गुनासो गण्डकी सरकारको पनि छ । वन तथा भू संरक्षण मन्त्रालयको २०७१ फागुन २५ को राजपत्रमा प्रकाशित सूचनाअनुसार एक्याप स्थानीय समुदायलाई हस्तान्तरण गर्ने भन्ने छ । तर, हालसम्म पनि हस्तान्तरण नभएकोमा प्रभावित क्षेत्रका समुदाय स्थानीय सरकार आन्दोलित छन् । आक्रोशित छन्,” उनले भने, “यो समस्याको समाधानमा सरकारको विशेष पहलकदमीका लागि अनुरोध छ । एक्यापजस्तै देशभर संरक्षण आयोजनाको नाममा स्थानीय समुदाय, स्थानीय सरकार प्रताडित छन् । पञ्चायतकालीन कानुनलाई टेकेर नागरिकलाई दुःख दिने काम नगरियोस् । पुरानो ऐन–कानुनलाई संविधानको भावनाअनुसार सुधार गरियोस् ।”

    राष्ट्रियसभा सदस्य दीपा गुरुङले वर्षाका कारण देशका थुप्रै ठाउँमा बाढीपहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रभावितलाई व्यवस्थित ढंगले राहत, सहुलियतका साथै स्थानान्तरण गरी बसोबासको उचित व्यवस्था मिलाउन माग गरिन् ।

    राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले आउँदो आर्थिक वर्ष २०८०र८१ मा हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने गरी बजेटको सुनिश्चितता मिलाउन माग गरिन् । सडक निर्माणमा खटिएको नेपाली सेनाको जोखिम भत्ता नकटाउन समेत उनले माग गरिन् ।

    राष्ट्रियसभा सदस्य महेशकुमार महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घर विस्थापित भएको भन्दै उनीहरूको उचित व्यवस्थाप गर्न सरकारसँग माग गरे । राष्ट्रियसभा सदस्य सिंहबहादुर विश्वकर्माले खेतीको सिजनमा किसानले मल नपाएको बताए ।


    तेस्रो आँखा