काठमाडौँ, ३० असार । नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ आज गठामुंगः (घण्टाकर्ण) पर्व मनाउँदै छन् । चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ । यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ ।
त्यसै गरी साँझपख घर घरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर घरको परिक्रमा गराई छ्वासे (मरेको मानिसको कपडा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ।
