बलेवा, ३ साउन । बागलुङका सबै स्थानीय तहका वडामा पशु चौपायालाई लम्पीस्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि र खोप पठाएको हो । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए । केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ ।
लम्पीस्किनबाट बागलुङमा १६६ गाईको मृत्यु भएको छ । लम्पीस्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ ।
संक्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताए । सबैभन्दा धेरै संक्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले बताए । किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग संक्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि संक्रमण बढी हुने गरेको पाइएको छ । रासस
