काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष २०७९/०८० मा विपद्का घटनामा परी देशभर ४७१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा रेकर्ड भएका पाँच हजार ५०३ घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
यस्तै, विपद्का घटनाले ९४४ गोठमा क्षति गरेको थियो, जसका कारण चार हजार ४१ जनावरको मृत्यु भएको थियो । विपद्का घटनाले गत आर्थिक वर्ष दुई करोड ९८ करोड ९४ लाख ६१ हजार १५० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा विपद्का घटनामा परी ४८९ जनाको मृत्यु, ४२ जना बेपत्ता र एक हजार ७६९ जना घाइते भएका थिए । विपद्का घटनाले पाँच हजार ९८३ परिवार प्रभावित भएका थिए । अघिल्लो आर्थिक वर्षमा विपद्का घटनाले दुई अर्ब ७३ करोड ३० लाख ३१ हजार ५४४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।
