बारा, ५ साउन । सरकारले धानको सर्मथन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरु दुविधामा परेका छन् । सरकारले धान खरिदकर्ता सहकारी र ब्यापारीहरुलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरुले बताए ।
हालैमात्र सरकारले मोटा प्रजातिका धानहरु, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रूपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रूपैयाँले बढी हो । स्थानिय बजारमा मोटा प्रजातिकाको धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनीले जानकारी दिए ।
गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगन्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताए पछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गरे । यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताए ।
