काठमाडौं, ८ पुस । देशको वैदेशिक व्यापार घाटा ५४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको मंसिरसम्ममा व्यापार घाटा ५४ दशमलव ७० प्रतिशतले बृद्धिभइ सात खर्ब ३५ अर्ब पुगेको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा नेपालबाट एक खर्ब दुई अर्ब बराबरको निर्यात भए पनि आयात भने आठ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको भएको छ।
गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । गत आवको मंसिरसम्ममा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब पाँच करोडभन्दा धेरैको निर्यात भएको थियो।
उच्च आयातका कारण मुलुको शोधानान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा संचिती पनि घट्दै गएको छ। उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीलगायतका बहुमूल्य र सवारीसाधान, श्रृंगारलगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ।
