अञ्जना चौधरी, तुलसीपुर १२ साउन/ समग्र दाङ र तुलसीपुर उपमहानगरपालिकाको गहनाको रुपमा अगाडी बढी रहेको राप्ती शान्ति उद्यानमा दिनानु दिन पर्यटकहरुको चाप बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान स्थानीयस्तरमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटको चाप बढ्न थालेको हो ।
पछिल्लो समयमा अवलोकनमा आन्तरिक तथा बाहिय पर्यटकहरु आउन थालेपछि यो क्षेत्रको पर्यटन विकासमा टेवा पुगेको छ ।
करिब १० हेक्टर बढी क्षेत्रमा फैलिए पार्क अहिले दाङ जिल्लामै नमुना पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय पार्कलाई थप आकर्षक बनाउन बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानसँगै बेबी रेल, पिङ, चिप्लेटी र नजिकै पौडी पोखरीसमेत निर्माण गरिएको छ भने लुम्बिनी प्रदेशमै ठुलो गौतम बुद्धको मूर्ति बनाइएको छ । त्यति मात्रै होइन, त्यहाँ विभिन्न प्रजातिका वनस्पति तथा बगैँचाका साथै मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, बाँदर, मृग, चिल लगायतका विभिन्न प्रजातिका पशुपन्छीको कलाकृति अवलोकन गर्न जिल्ला बाहिरबाट समेत पर्यटक आउने गरेका छन् ।
पर्यटकहरु बढ्न थालेसंगै उक्त क्षेत्रमा व्यापार व्यवासाय त फस्टाउँदै गएको छ नै स्थानीयहरुले रोजगारी समेत पाएका छन् । लुम्बिनी प्रदेशमै गहनाको रुपमा राप्ती शान्ति उद्यान परिचित भएको छ । प्रदेशले पनि उद्यानको लागि वजेट विनियोजन गरेर उद्यानको विकासको लागि काम गर्दै आएको छ । पार्क बनेसंगै स्थानीय एकदमै लाभाम्वित भएको स्थानीय बिमल गौतमले बताए । ‘दैनिक रुपमा सयौं अटो तथा चालकहरुले काम पाएका छन्, शान्ति उद्यान भित्रै पनि मालिदेखि अन्य कर्मचारी नियक्त हुनु भएको छ, उहाँहरु सबै स्थानीय नै हुनुहुन्छ गौतमले भने, पार्क भित्र व्यवसाय गर्नको लागि श्री गणेश समुदायिक वन भित्रका उपभोक्ताहरुले व्यवसाय गर्ने पहिलो अवसर पाउँनु भएको छ, युवाहरुले क्यामेरा म्यानको काम पाउनु भएको छ, त्यही पार्ककै कारण बाहिर पसल होटेल खुलेका छन् पार्ककै कारण स्थानीयको आर्थिक उन्नतिमा ठुलो भूमिका खेलेको छ’ गौतमले भने ।
उद्यान अवलोकनका लागि जिल्ला बाहिर कास्की, कञ्चनपुर, डडेलधुरा बैतडी, सल्यान रुकुमबाट पर्यटकहरु आउँने गरेका छन् । यसरी समुह, संघ संस्थाबाट आएका पर्यटकहरुलाई पार्कको महत्व संगै आफ्नो क्षेत्रमा भएको वन क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्नुस् प्रकृति र संस्कृति जोगाउँने माध्यम हुनुका साथै रुख विरुवा काटेर होईन प्रर्दशनी गरेर पनि आए आर्जन गर्न सकिन्छ भनेर सल्लाहा दिने गरेको व्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर भण्डारीले जानकारी दिए । विगत ६ महिनादेखि त झनै आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढेको अध्यक्ष भण्डारीले बताए ।
दैनिक रुपमा पाँचसय देखि ६ सय पर्यटक अवलोकनका लागि आउँने गरेको बताउँदै अध्यक्ष भण्डारीले नयाँ वर्षको दिन मात्रै १२ हजार जना पर्यटकलाई टिकट विक्रि सफल भएको बताए । पर्यटकको रोजाइमा १८ फिट अग्लो बुद्धको प्रतिमा, सुन्दरीको प्रतिमा, वाटर फाउन्टन, बहुमूल्य वनस्पती, बाल उद्यान पर्यटकको रोजाईमा पर्ने गरेको उनले बताए । उद्यान अवलोकनको लागि समितिले ३० रुपैया शुल्क तोकेको छ । गएको आर्थिक वर्ष २०७९/८० मा मात्रै दुई लाख पर्यटकहरुले उद्यानको अवलोकन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा डेढलाख पर्यटकहरुले उद्यानको अवलोकन गरेका थिए । राप्ती शान्ति उद्यानले उद्यानले तुलसीपुर लगायत समग्र दाङलाई चिनाउने काम गरेको छ । यसको प्रवर्धन गर्नु सबैको दायित्व हो ।

