काठमाडौं, १२ साउन । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो ।
आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित आठ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ,’ आदेशमा भनिएको छ । श्वासप्रश्वासमा समस्या भएर उक्त अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका आठ महिनाका ती बालकलाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन भनिएको हो ।
२०७३ असार २२ गते ती बालकलाई उपचारका लागि उक्त अस्पतालको इमर्जेन्सीमा पुर्याइएको थियो । अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै पीडित बालकका बुवा ध्रुवकुमारले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
सोही राति शम्भु विक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका साथै दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखिएको थियो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा. आयुष्मा रेग्मीले तयार पारेको प्रतिवेदनबमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो ।
