रुकुम १६ साउन/ रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम ९पूर्व० को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिराको कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन भएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका–७वडाअन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।
पहिराले मान्छे पैदल हिँड्ने बाटोसमेत थिएन । सहिदमार्ग, प्रहरी र स्थानीयवासीको सहयोगमा तीन दिनपछि अवरुद्ध सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिए ।
वर्षाका कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गसँगै अन्य सहायक मार्गहरुमा पहिरो झरेर समस्या बनाइरहेको छ । पहिरो जानेबित्तिकै समयमा जेसिबी, ब्रेकर नभेटिँदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको डिएसपी श्रेष्ठले बताए ।
उनका अनुसार सहिदमार्गमा पहिरो हटाउनका लागि सहिदमार्गकै एउटा जेसिबी छ । भूमे गाउँपालिकाको जेसिबी भने काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रिएको छ । मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती बिल्डर्सले सहयोग गरिरहेको छ । मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबी बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएको छ ।
सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको डिएसपी श्रेष्ठले बताए । पुथा उत्तरगङ्गा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उनले बताए। काँक्रीबाट रिका लेख हुँदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलका कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुने गरेको छ । कतिपय सहायक मार्गहरु भने पहिराका कारण अवरुद्ध नै भइसकेका छन् । जसलाई तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी रुपमा आवागमन भइरहेको छ । साउन १२ गते बिहान ५ बजेतिर झरेको ठूलो पहिराको कारण आवागमनमा समस्या भइरहेको छ । सडकमा झरेको ठूलो ढुङ्गा फुटाउन सकिएको छैन । जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुङ्गा फुटाउन नसकिएको बताउँदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तिगाउँबाट ठूलो ब्रेकर बोलाएको र उक्त ब्रेकरले ढुङ्गा फुटाए आवागमनमा सहज हुने बताए। पहिराको कारण जिल्लास्थित विभिन्न विद्यालयमा पनि क्षति पुगेको प्रहरीले बताएको छ । रासस
