घोराही, साउन २२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अहिलेसम्मकै उच्च संख्यामा बिरामीले ओपिडि सेवा लिएका छन् । प्रतिष्ठानबाट ९ सय बढी बिरामीले स्वास्थ्य उपचार सेवा पाएका हुन् । आइतबार मात्रै ९ सय ७० जना बिरामीले सेवा लिएको प्रतिष्ठानका अस्पताल प्रशासक झङ्कार लामिछानेले जानकारी दिए ।
यो बिरामीको सेवा लिने संख्या प्रतिष्ठान स्थापना भएदेखि अहिलेसम्मकै उच्च रहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए । भट्टराईका अनुसार अहिले भाइरल रहेको आँखा पाक्ने रोगका बिरामीले सबैभन्दा बढी सेवा लिएका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. विनिता केसी नेतृत्वका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले २ सय ५९ जनालाई आइतबार मात्रै सेवा दिएको छ ।
त्यस्तै दन्त विभागबाट १९ जनाले, छाला विभागबाट ४० जना, इमरजेन्सी सेवा ४८ जना, नाक, कान, घाँटी विभागबाट ६३ जनाले, मेडिसिन विभागबाट १ सय ८९ जनाले, सर्जरी विभागबाट ६३ जनाले, प्रसूति सेवा ९३ जनाले, हाडजोर्नी विभागबाट १ सय ७ जनाले, वाल रोग विभागबाट ५८ जनाले, मनोचिकित्सा विभागबाट २६ जनाले सेवा लिएका छन् । प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिदै गएपछि उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले बताए ।
