काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (शुक्रबार) देखि सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ। प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले उक्त कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरका उडान रोकिएको हो। भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम आजै बुझाएको खण्डमा भने उडान गर्न दिइने छ।
सिम्रिक एयरसँग रहेका चार हेलिकप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान गरिरहेका थिए। कम्पनीसँग दुईवटा बेल र दुईवटा एएस ३५० हेलिकप्टर छन्। रासस
